अबको शिक्षा उत्पादनमुखी र जनमुखी हुनेछ : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०७४, १४ : ४२

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले अबको शिक्षा उत्पादनमुखी र जनमुखी हुने बताउनु भएको छ । चितवनको पटिहानीमा बिहीबार आधारभूत विद्यालय सुन्दरबस्तीको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।
विद्यालय क्षिक्षा सुधार कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन अबको शिक्षा ब्यावहारिक, वैज्ञानिक र जीवनोपयोगी हुनुपर्ने बताउँदै उहाँले आफू काठमाडौं फर्केलगत्तै सरकारका मन्त्रीहरूसंग छलफल गरेर यस बिषयमा पहल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्डले आफू यसै वडाको बासिन्दा र यसै क्षेत्रको जनप्रतिनिधि हुनुको नाताले यस क्षेत्रको विकास गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताउनु भयो ।
अबको शिक्षा उत्पादनमुखी र जनमुखी हुने बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले विगतको बेरोजगार उत्पादन गर्ने, प्रमाणपत्रधारी जनशक्ति उत्पादन गर्ने, अव्यवहारिक शिक्षा नीति नेपालको विकासको बाधक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विद्यालयहरू कमजोर हुँदै जाने, विद्यार्थी र अभिभावकको रोजाइमा नपर्ने, निजी विद्यालयतर्फ आकर्षित हुने परिपाटीको अन्त्य गर्दै अब सामुदायिक विद्यालयहरुलाई विद्यार्थी र अभिभावकको रोजाइमा पार्नु पर्ने बताउनु भयो ।
पूर्वप्रधानमन्त्री प्रचण्डले बेरोजगारी समस्याको समाधान गर्न वैज्ञानिक, ब्यावहारिक र उत्पादनमुखी शिक्षा नीति चाहिने बताउँदै सबैलाई त्यस दिशामा लाग्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वर्ण स्मारकको अनावरण समेत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, स्थानीय समाजसेवी तथा चन्दादाताहरूले विद्यालयको भौतिक पूर्वाधार विकास गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस