जंगली हात्तिद्धारा एक दर्जन घरमा तोडफोड

आइतबार, १७ मंसिर २०७४, १४ : ०९
जंगली हात्तिद्धारा एक दर्जन घरमा तोडफोड

राजविराज, १७ मंसिर । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले  गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा  एक दर्जन घरमा तोडफोड गरेको छ ।

मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति गरेको स्थानीयवासी उत्तम आचार्यले बताए । सो क्षेत्रमा केही दिनदेखि  हात्ती आतंक बढेपनि स्थानीयवासी प्रशासन र आरक्षप्रशासन तथा सम्बन्धित निकायले ध्यान नदिएकोले सो क्षेत्रमा हात्ती आतंक बढेको स्थानीयवासीले आरोप लगाएका छन् ।

एक सातायता फेरि गाउँ पसेर हात्ती दैनिक आतंक मच्चाउँदै आएको कारण स्थानीयवासी त्रसित बन्नुको साथै रातिको समयमा जागराम भएर बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय राजकुमार पासवानले गुनासो गरे ।   

पटक/पटक जंगली हात्तीले जंगल क्षेत्रमा आतंक मच्चाउदै आएको र आफूहरु आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि हारगुहार गर्दा समेत कुनै सुनुवाइ नभएको भन्दै पीडित आक्रोशित बनेका छन् । हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले आरक्षतर्फ लखेटेको थियो ।  करिब चार दिन अगाडि कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा कञ्चरुप नगरपालिका– २ स्थित बदगामाकी एक महिलाको मृत्यु भएको थियो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस