फेसबुक प्रकरणबारे जुकरवर्गले पहिलोपटक संसदमा दिए स्पष्टिकरण

विहीबार, २९ चैत्र २०७४, ०८ : ४५
फेसबुक प्रकरणबारे जुकरवर्गले पहिलोपटक संसदमा दिए स्पष्टिकरण


पछिल्ला दिनहरुमा गम्भीर आरोपका साथै विश्वव्यापी आलोचनाको सामना गर्दै आएको फेसबुक कम्पनीका पक्षमा स्पष्टीकरण दिन पहिलोपटक कार्यकारी अधिकृत मार्क जुकरवर्ग अमेरिकी सीनेट सामु प्रस्तुत भएका हुन् । पाँच घन्टासम्म लगातार सिनेटहरुका जटिल प्रश्नको जवाफ दिँदै मंगलबार जुकरवर्गले फेरि सार्वजनिक रुपमा फेसबुकको गल्ती स्वीकार गरेका छन् ।

४४ सिनेटरहरुको उपस्थिति रहेको सो बैठकको सुरुवातमै  जुकरवर्गले क्याम्ब्रिज एनालिटिका प्रकरण, फेक न्युज, वैदेशिक चुनावमा हस्तक्षेप, घृणात्मक तथा भड्कीलो सन्देश र गोपनीयता जस्ता विषयमा आफ्नो तर्फबाट पर्याप्त कदम नउठाइएको प्रस्ट पारेका हुन् । तरपनि आफूले फेसबुक सम्बन्धि समस्याको जिम्मा लिनबाट कहिल्यै पछि नहटेको भन्दै जुकरवर्गले फेसबुकबाट धेरै ठूलो गलती भएकोमा फेरि माफी मागेका हुन् ।

त्यसरी ठूलो सङ्ख्यामा उपस्थित रहेका सिनेटहरुको लगातार प्रश्नको घण्टौँसम्म जवाफ दिइरहनु सहज नभएपनि जुकरवर्गले हरेकपटक निडर भइ शिर उठाएर उत्तर दिइ सबैलाई अचम्मित पारेका हुन् । उनले भने, ‘आजसम्म फेसबुक विभिन्न टुलमा सुधार ल्याउन मात्र केन्द्रित रहँदै आएको थियो । तर अब भने हामी सानो कुरामा पनि सचेतता अपनाउनतर्फ जोड दिनेछौँ ।’

यसअघि क्याम्ब्रिज एनालिटिकाले फेसबुकमार्फत ५ करोड अमेरिकी जनताको व्यक्तिगत जानकारी अवैध तरिकाले हासिल गरि राजनीतिक प्रचारमा प्रयोग गरेको समाचार प्राप्त भएको थियो । यसै खबरपछि फेसबुकले सबैतिरबाट आलोचनाको सामना गर्नुपरेको हो । त्यसैगरी जुकरवर्गमाथि यसअघि एप्पलका मालिक टम कुकले ‘प्रयोगकर्ताको जानकारी विज्ञापनदातालाई बेच्ने गरेको’ आरोप लगाएका थिए ।

जुकरवर्गले यसको पनि स्पष्टिकरण दिँदै सो भनाइलाई गलत ठहर्याएका हुन् । उनले भने, ‘हाम्रो कम्पनीले सबै वर्गका प्रयोगकर्तालाई लक्षित गरिे सस्तो र भरपर्दो सेवा दिने उद्देश्यले विज्ञापन राख्न आवश्यक ठान्दै आएको छ । त्यसकारण फेसबुकलाई विज्ञापन मुक्त बनाइयो भने  निःशुल्क सेवा बन्द गराइनुपर्छ ।’

३३ वर्षीय जुकरवर्गले आफ्नो कम्पनीलाई रुससँग सबैभन्दा बढी खतरा रहेको पनि खुलासा गरेका छन् । रुसको प्रविधि र फेसबुकबीच हरेक कदममा प्रतिस्पर्धा भइरहेकाले उनीहरुभन्दा एक कदम अगाडि हुन फेसबुक निरन्तर प्रयास गरिरहेको उनले बताए । रुसले लामो समयदेखि फेसबुकलाई हतियारका रुपमा प्रयोग गर्दै आएकाले त्यसलाई रोक्न फेसबुकले यसअघि पनि धेरै चुनौतिको सामना गरिसकेको उनले बताए । -बीबीसी

प्रतिक्रिया दिनुहोस