सामाजिक कार्यका पर्यायवाची बन्दै चितवनका यि चिकित्सक दम्पती

यो जोडीले गरे दन्त पर्यटनका लागि अभियान थालनी

रासस

सोमबार, २८ असार २०७८, ०८ : ५०
सामाजिक कार्यका पर्यायवाची बन्दै चितवनका यि चिकित्सक दम्पती

नारायण अधिकारी 
चितवन । यहाँका एक दन्त चिकित्सक दम्पती दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहेको छ । प्राकृतिक विपत्तिमा परेका बेला सहयोगदेखि दन्तरोग नियन्त्रणका लागि जनचेतना, गरिब र विपन्न परिवारका बालबालिकाको शिक्षामा उनीहरुले निरन्तर सहयोग पु¥याउदैं आईरहेका छन् ।  भरतपुर, नारायणगढ र टाँडी बजारमा रहेको साइराम डेन्टल केयरका सञ्चालकद्वय डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपाने आफ्नो कमाइको २० प्रतिशत हाराहारी दानमा नै खर्चिन्छन् । दन्त चिकित्सामा नाम चलेको यो जोडीले दन्त पर्यटनमा पनि अभियान चलाउँदै आएको छ । नेपाल सरकारको १० औँ तहका चिकित्सक डा. अजय भरतपुर अस्पतालमा दन्तरोग विभागका प्रमुख पनि हुन् ।

 दुई वर्ष बकुलहर रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट भएका न्यौपानेको जोडीले चितवन, नवलपरासी, धादिङ र गोरखाका गाउँगाउँसम्म पुगेर निःशुल्क सेवा दिएको छ । यो जोडीले अहिलेसम्म २५ हजारभन्दा बढीलाई प्रत्यक्ष दन्त परीक्षण गराएर निःशुल्करूपमा औषधिसँगै ब्रस, दन्तमञ्जन वितरण गरेका छन् । आफ्नो क्लिनिकमा बिरामी भरिभराउ हुँदै गर्दा यो सङ्ख्या घटाउन जनचेतना जरुरी रहेको डा. अजय बताउछन् । उनी भन्छन्, “बालिबालिकाको पाठ्यक्रममा दाँतको सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्छ ।” यो जोडीले शिविरमा दाँत निकाल्ने, भर्ने, सफा गर्ने, निःशुल्क औषधि वितरण गर्ने र जनचेतना जगाउने गर्दै आएको छ ।

जिल्लाका पिछडिएको समुदायमा पुगेर आफ्नै खर्चमा निःशुल्क शिविर गर्ने गरेको छन् । गाउँगाउँमा शिविरसँगै यो दम्पतीले विपत्तिका बेला असहायलाई साथ दिने अर्को नमुना कार्य समेत गरेका छन् । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ सामुदायका बालबालिकालाई शैक्षिक सामग्री पनि उनीहरुले समय समयमा वितरण गर्दै आईरहेका छन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदै गर्दा न्यौपाने दम्पत्तीको जोडीले त्यहीँ पुगेर लत्ताकपडा, खाद्यान्न, जस्तापातालगायतका सामग्री वितरण गरेका थिए ।   

देवघाटमा रहेका वृद्धवृद्धालाई निःशुल्क दन्त परीक्षण गर्ने, औषधि, लत्ताकपडा वितरण गर्ने उनीहरुको नियमित कामभित्र पर्दछन् । बाढीपहिरोका बेला सम्बन्धित ठाउँमा नै पुगेर सहयोग गर्ने गरेको डा अजय बताउछन् ।  त्यसो त पछिल्लो समय आएका दन्त चिकित्सकलाई प्रविधि र सीप हस्तान्तरण गर्न आफ्नै खर्चमा यो दम्पतीले गोष्ठी गर्न थालेको छ । वर्षमा दुई वटा गोष्ठी गर्ने योजना रहे पनि कोभिडका कारण हालसम्म तीन वटा मात्रै हुन सकेका छन् । उनी भन्छन्, “हामीले ८० जना हाराहारी दन्त चिकित्सकलाई यहाँ बोलाएर दुईदेखि तीन दिनको आवासीय निःशुल्क कार्यक्रम गर्दै आएका छौँ ।” उनीहरुको आफ्नै खर्चमा यी कार्यक्रम हुँदै आएका छन् । कोरोना घटेसँगै वर्षमा दुई वटा यस्ता कार्यक्रम गर्ने उनले बताए । यस्ता कार्यक्रमले प्रविधि हस्तान्तरणमा ठूलो टेवा पुग्ने उनीहरुको बुझाइ छ । 

विदेशमा छरिएर रहेका दन्त चिकित्सकलाई नेपाल बोलाउने डेन्टल प्रोजेक्ट नेपालसमेत उनीहरुले शुरु गरेका छन् । पन्ध्र दिने यस कार्यक्रममा विदेशी दन्त चिकित्सक यहाँ आएर उपचारका बारेमा छलफल परामर्शसँगै यहाँका पर्यटकीय क्षेत्र घुम्ने गर्दछन् । सन् २०१५ देखि उनीहरुले यो अभियान शुरु गरेका हुन् । कम्तीमा १५ र बढीमा २५ जनासम्म चिकित्सक आउने गरेकोमा पछिल्ला वर्षहरुमा कोभिडबाट प्रभावित बनेको छ । 
्डेन्टल टुरिजमअन्तर्गत रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घसँग मिलेर साइराम डेन्टलले अन्तक्र्रियात्मक कार्यक्रमसमेत गरिएको थियो । विदेशमा दाँतको उपचार महँगो हुने हुँदा युरोप, अमेरिका, अष्ट्रेलियालगायतमा देशमा रहेका नेपाली उपचार गर्न यहाँ आउने गर्दछन् । यस अभियानमा विदेशीलाई समेत जोड्ने जमर्को यो दम्पतीले गरेको छ ।

दाँतको उपचार निकै महँगो हुने भए पनि अरु देशको तुलनामा नेपालमा ८० प्रतिशत सस्तो हुने गरेको पाइन्छ । थाइल्याण्ड, कम्बोडिया, भियतनामजस्ता देशले डेन्टल टुरिजममा राम्रो प्रगति गरेको भन्दै डा अजयले भने, “नेपालमा पनि यो निकै राम्रो गर्न सकिन्छ । यहाँको भविष्य उज्ज्वल छ ।” नेपाल शान्त देश, अतिथि सत्कारमा उत्कृष्ट, दाँतको उपचारमा दक्ष जनशक्ति, विदेशकै उपकरणको प्रयोग भए पनि खर्च कम लाग्ने गरेको छ । दन्त चिकित्सा क्षेत्रलाई उत्कृष्ट बनाउन यो दम्पतीले पढ्दै गरेका चिकित्सक र भर्खरै कर्ममा लागेकालाई विभिन्न ढङ्गले सहयोग पनि गर्दै आएको छ । गत वर्षको कोभिडताका रु १२ लाख उनीहरुका लागि यो दम्पतीले खर्च गरेको थियो । डा. सरुका अनुसार पढ्दै गरेका विद्यार्थी र भर्खरै काम थालेका दन्त चिकित्सकलाई रु १० लाख र नेपाल डेन्टल एशोसिएशनलाई रु दुई लाख सहयोग गरिएको हो ।

यस वर्ष अक्सिजन, मास्क, पिपिईजस्ता स्वास्थ्य सामग्री सरकारी अस्पताल, पत्रकार, सुरक्षाकर्मीलाई सहयोग गरेको छन् । छ लाखभन्दा बढीको सामग्री किनेर वितरण गरेको सरुले बताए । स्वास्थ्य स्वयंसेविकामार्फत जनचेतना जगाउन रत्ननगर नगरपालिकासँग मिलेर तालीम गरेको उनको भनाइ छ । उनले भने, “दाँतको उपचार गर्नै नपर्ने गरी जनचेतना जगाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुँदोरहेछ ।” कसरी बिरामी घटाउन सकिन्छ भन्नेमा डा.सरु भन्छिन्, “बच्चाको औषधि गुलियो हुने र खाएपछि कुल्ला गर्न नभनिएकै कारण धेरै बालबालिकाको दाँत बिग्रिएको छ ।” बाल रोग विशेषज्ञसँग यस विषयमा अन्तक्र्रिया गर्ने तयारीमा उनीहरु छन् । उनले भनिन्,  “दाँतमा समस्या भएको बच्चा अन्य बच्चाको तुलनामा मानसिक र शारीरिक विकासमा पछि पर्छ ।”

नेपालमा रोगको रोकथाम नै गर्नुपर्ने भन्दै उनले उपचार गर्न आवश्यक सङ्ख्यामा चिकित्सक नभएको, औजार उपकरण खरिद गर्न आवश्यक बजेट नपुग्ने र भौतिक पूर्वाधारमा ठूलो खर्च हुने हुँदा गाउँगाउँसम्म यो सेवा पुग्न नसकेको बताईन ।  उपचार महँगो तर रोकथाम अति सस्तो हुने उल्लेख गर्दै उनले भनिन् , “जनचेतना जगाएर रोकथाम गर्न सकिन्छ, तर उपचार महँगो छ ।” उनीहरुसँग निकट सम्बन्ध राख्ने वरिष्ठ पत्रकार दीपक आचार्य सामाजिक सेवामा युवा उमेरमा यो चिकित्सक दम्पतीले गरेको योगदान उदाहरणीय रहेको बताउछन् । उनले भने , “जहाँ अप्ठ्यारो पर्छ, त्यहाँ सहयोग लिएर यो दम्पती पुग्ने गरेको छ ।”

रोग लाग्न नदिनका लागि जुन अभियान सञ्चालन गरिरहेका छन, त्यसलाई सबैको साथ र सहयोग चाहिने उनको भनाइ छ । ट्रष्ट बनाएर यस्तो सहयोग गर्न आफूले सुझाव दिएको आचार्यको भनाइ छ । विसं २०६१ देखि जिल्लामा दन्तरोगको उपचार गर्दै आएको यो जोडी बङ्गलादेशबाट ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस) गरेर नेपाल फर्किएको हो । डा. अजय बिडिएसमा गोल्डमेडलिष्ट हुन् । नेपाल आएलगत्तै कर्मथलो चितवन बनाएर विवाह बन्धनमा बाँधिदैं स्वास्थ्य सेवामा जुटेका हुन् । मूल घर काठमाडौँ भएका यो जोडी अहिले भरतपुरको स्थायी बसिन्दा भएका छन् ।

प्रतिक्रिया दिनुहोस