चितवन । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ । त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो । गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ ।
गाउँपालिका प्रमुख गीता गुरुङले शनिबार मात्र इच्छाकामना–३ दारेचोकस्थित तोक्दाङढापमा खानेपानी आयोजनाको उद्घाटन गरिन् । सो अवसरमा एक घर एक धाराअन्तर्गत ४६ घरमा धारा जडानको काम सम्पन्न भएको छ । उनका अनुसार झण्डै छ किलोमिटर टाढाका दुई खोलाबाट पानी ल्याइएको हो । रु ३५ लाखको लागतमा योजना सम्पन्न भएको हो । उनले भनिन्, “अब तोक्दाङढापवासीले घण्टौँ लगाएर पानी लिन जानु पर्दैन ।”
गाउँपालिकाकै वडा नं ६ ढुङ्ग्रेमा रु एक करोडको लगानीमा बन्दै गरेको आयोजना साउनमा सम्पन्न हुँदैछ । त्यहाँ १०० भन्दा बढी घर लाभान्वित हुनेछन् । सो आयोजनाको ७२ धारा जडान भइसकेको गुरुङले जानकारी दिइन् । सोही गाउँपालिकाको वडा नं १ ज्ञानजालामा पनि रु एक करोडको लगानीमा बन्दै गरेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस आयोजनाले ७० घरपरिवारलाई खानेपानी पु¥याउने छ ।
इच्छाकामनाकै वडा नं ५ इच्छाकामना मन्दिर परिसरमा रु एक करोडकै लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । पानी निस्किसकेको र धारा जडानको काम भइरहेको उनको भनाइ छ । यस आयोजनाले मन्दिर क्षेत्रसँगै स्थानीय ५५ घरलाई खानेपानी पु¥याउने छ । तीनवटै आयोजना लिफ्टिङ प्रणालीबाट गरिएका हुन् । सबैमा सोलार जडान गरिएका छन् । अप्ठ्यारो भएकाले यी आयोजना सम्पन्न हुन समय लागेको भन्दै उनले आफ्नो गाउँपालिकाको सातवटै वडामा अब खानेपानीको समस्या नहुने बताइन् । उनले भनिन्, “अब हाम्रो गाउँपालिकामा खानेपानीको दुःख नहोला ।”
आफू प्रमु्ख भएपछि खानेपानीलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको भन्दै उनले खानेपानीको समस्या मुख्यरूपमा महिलाले पाउने गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ असार २०७८, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इच्छाकामनाले निर्माण गर्यो चिस्यान केन्द्र
चेपाङ समुदायका लागि इच्छाकामनामा २२ घर निर्माण