महामारी नियन्त्रणमा सहयोगी बन्दै नेपाल रेडक्रस

रासस

शनिबार, २६ असार २०७८, १३ : २६
महामारी नियन्त्रणमा सहयोगी बन्दै नेपाल रेडक्रस

काठमाडौं । नेपाल रेडक्रस सोसाटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ । यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी मार्फत ‘लबिङ’ पैरबी लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरुलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरबी गर्दै आएको छ । साथै खोप उत्पादक देशसँग आवश्यकताका आधारमा  समानुपातिक खोप वितरण गर्न उसले आग्रहसमेत गरिराखेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार  विश्वका सबैभन्दा गरीब ५० देशले दुई प्रतिशतमात्र खोप पाएका छन् । यी देशमा विश्वका १७ प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन् । रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाइनुपर्छ ।

सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले  कोभिड विरुद्धको थप खोप ल्याउन  नेपाल रेडक्रसले  प्रयास जारी राखेको जानकारी दिए । उनले भने, “महामारी रोमथामको एकमात्र उपाय खोप हो । सङ्कटासन्न समुदायलाई खोपको पहुँचमा पु¥याउनु विश्वव्यापी चुनौती बनेको छ । हामीले नेपाल रेडक्रसलाई सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी तथा आइएफआरसीमार्फत नेपालमा  खोपका मात्रा बढाउन ‘लबिङ’ गरिराखेका छौँ । पत्राचार तथा उच्चस्तरीय कुराकानी भइरहेको छ ।  छिट्टै सकारात्मक नतिजा आउनेमा  विश्वस्त छौँ ।” उनका अनुसार नेपाल रेडक्रसले विशेषगरी खोप उत्पादक देशहरु चीन, बेलायत र अमेरिकासँग ती देशका रेडक्रस सोसाइटीमार्फत नेपालको अवस्थाका बारेमा संवाद बढाएको छ ।

यसमा चीनसँग पत्राचार गरिसकिएको र बेलायत र अमेरिकासँग पत्राचार गरिँदैछ । नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा र विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भई मानवीय सेवामा लामो अनुभव सम्हालेका महामन्त्री अर्यालले भने, “कोभिड–१९ विरुद्धका रोकथाममा शुरुआती चरणदेखि हामी उच्च प्राथमिकताका साथ यसको रोकथाममा समुदायमा  पुगिरहेका छौँ ।” महामारीको पहिलो लहरमा मास्क, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापनका लागि शव व्यवस्थापन झोला, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालीम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री सोसाइटीले सरकारलाई सहयोग गरेको थियो । 

साथै कोभिडबाट जोगिने उपायबारे जनचेतना,  क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा  आवश्यक ब्ल्याङ्केट, तारपोलियनसमेत उपलब्ध गराएको थियो । कोरोनाका बिरामी अस्पतालसम्म पु¥याउन सहज होस् भनेर आफ्ना एम्बुलेन्सलाई स्तरोन्नति गरिएको छ र चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा कवज र सङ्क्रमण न्यूनीकरण र नियन्त्रणसम्बन्धी तालीम प्रदान गरिनाका साथै  रगतको अभाव हुन नदिन आफ्ना संयन्त्रलाई चुस्त बनाएको थियो ।  

प्रतिक्रिया दिनुहोस