संविधानको लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प छैन : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १२ : ३५
संविधानको लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

उनले भने, ‘संसद पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ, त्यता तर्फ म कल्पनासम्म गर्न सक्दिनँ ।’ यसअघि पनि प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गराएको स्मरण गर्दै उनले भने, ‘पहिलोपटक पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्ने हामीलाई विश्वास थियो, यस पटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने समेत प्रचण्डले विश्वास व्यक्त गरे । सो अवसरमा प्रचण्डले दिवंगत पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मानका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

माओवादी केन्द्र धनुषाको कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, नेकपा एमालेका केन्द्रिय सदस्य तथा संसदीय दलका नेता शत्रुधन महतो, नेकपाका नेता गौरी मण्डल सहितका शीर्ष नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस