अविरल वर्षाका कारण डुबानमा परेको रौतहटमा पानीको सतह विस्तारै घट्दै

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १२ : ०४
अविरल वर्षाका कारण डुबानमा परेको रौतहटमा पानीको सतह विस्तारै घट्दै

रौतहट । केही दिन यता बाढी र डुबानको चपेटामा परेको रौतहटमा आइतबार विभिन्न खोला तथा नदीका जलस्तर घट्न थालेको छ । बाढीका कारण डुबानमा परेको सदरमुकाम गौरमा पनि पानीको सतह विस्तारै घट्दै गएको छ ।

जिल्लाको मध्यभागमा बग्ने झाँझखोला र पश्चिम लालबकैया नदीको जलस्तर घटेसँगै सदरमुकाम गौरमा पनि राहत महसुस गर्न थालिएको छ । अविरल वर्षा र बाढीका कारण डुबानमा परेको गौरमा पानीको सतह घट्दै गएको छ ।

शनिबार साँझ ६ बजेसम्म गौरस्थित नर्सिङ क्याम्पस एरिया र भन्सार एरिया डुबानमा परेको थियो । तर आइतबार सबै स्थानमा पानीको सतह कम भइरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

गौरबाट २ किलोमिटर उत्तर गौर–चन्द्रपुर मुख्य सडकमा पर्ने सबगढास्थित लचकामा पानीको सतह कम भएपछि  यातायात सञ्चालनमा सहज भएको छ । लचकामा मोटरसाइकल र पैदल यात्रुलाई वारपार गर्न गौर नगरपालिकाले निःशुल्क ट्याक्टरको व्यवस्था गरेको छ ।

ईशनाथ नगरपालिका–१, बनजरहा गाउँमा पनि पानीको सतह घटेको प्रहरीले जनाएको छ । शनिबार बनजरहाका ३० परिवार बिस्थापित भएर गाउँमै आफन्तको घरमा बस्दै आएका थिए ।

बाढीले मौलापुर–कलैया सडकखण्ड अन्तर्गत हरनहिया चोकभन्दा पूर्व करिव १० मिटर कालोपत्रे बगाएको छ । उक्त स्थानमा अहिले आवतजावत अवरुद्ध छ ।

त्यसैगरी शनिबार अवरुद्ध रहेको कटहरियाघाट–लालबकैया नदीको पुलभन्दा पश्चिम लचका नजिकको बाटो सामान्य मर्मतपछि पैदल, साइकल, मोटरसाइकल आवतजावत भइरहेको छ भने चारचक्के सवारीसाधन सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस