मंसिर २१ गतेको मतदान शान्तिपूर्ण हुन्छ : शाह

शनिबार, १६ मंसिर २०७४, २० : ५३
मंसिर २१ गतेको मतदान शान्तिपूर्ण हुन्छ : शाह

भरतपुर । निर्वाचन आयुक्त सुधिर शाहले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुने बताउनु भएको छ । 
भरतपुरमा शनिबार आयोजित निर्वाचन व्यवस्थाको तयारी र सुरक्षा प्रत्याभुतिको तयारीको सम्बन्धमा स्थानीय अधिकारीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमा उहाँले यस्तो बताउनु भएको हो । मंसिर १० गते भएको निर्वाचनमा मतदाताले उत्साहजनक रुपमा आफ्नो मताधिकारको प्रयोग गरेको बताउँदै उहाँले भन्नुभयो, ‘त्यो दिन कुनै पनि अप्रिय घटना भएन । अब २१ गते पनि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ ।’
‘देशका केही भूभागमा आपराधिक घटना भएका छन् । देशमा अझै द्वन्द्वको अवशेष बाँकी नै छ’ उहाँले भन्नुभयो, ‘हिजो द्वन्द्वको अवधिमा संग्लन एउटा सानो समूह आज पनि संविधान स्वीकार नगर्ने र निर्वाचन नचाहने गतिविधिमा संग्लन छ ।’ आपराधिक घटना भएको भूभागमा सुरक्षा निकायले नियन्त्रण गर्नेछ भन्नेमा आयोग विश्वस्त रहेको शाहले बताउनु भयो ।   
निर्वाचनमा खटिएका कर्मचारीलाई निष्पक्ष रुपमा काममा खटिन निर्देशन दिइएको निर्वाचन आयुक्त ईला शर्माले बताउनु भयो । मतदाताले ढुक्क भएर स्वतन्त्रतापूर्वक आफ्नो मताधिकारको प्रयोग गर्ने वातावारण सिर्जना भएकोले निर्वाचन आयोग ढुक्क भएको उहाँले बताउनु भयो ।
‘सरकारले आचारसंहिताको उल्लंघन गरेको छ भन्ने आयोगमा सूचना र जानकारी पाएमा आयोगले आवश्यक कारबाही अगाडि बढाउने छ’ शाहले भन्नुभयो, ‘स्थानीय स्तरमा आचार संहिता उल्लंघन भएको वा नभएको अवस्थाबारे मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग छलफल भइसकेको छ ।’ 
 

प्रतिक्रिया दिनुहोस