काठमाडौं । अन्ततः ‘हात लाग्यो शून्य’ को अवस्थामा पुगेको छ, विप्लव नेतृत्वको नेकपा । सरकारले निकै ठूलो हल्लिखल्लीका साथ दलमाथिको प्रतिबन्ध हटाएर स्वागत गरेको उक्त पार्टीका नेताहरु अहिले सरकारबाट प्राप्त बचनबमोजिम कुनै पनि कुरा नपाएर हैरान छन् ।
र, अब पनि केही होला भनेर आश मारिसकेका छन् । त्यसैले अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) उपत्यका छाडेर गाउँघरतिरै घुमिरहेका छन् । सरकारले बाचा गरेमध्ये खुला गतिविधिमाथिको प्रतिबन्धमात्रै हटाइयो । तर, कसैका कुनै पनि मुद्दा फिर्ता भएनन् ।
बरु, सत्तासाझेदारीमा सहजता ल्याउने उद्देश्यका साथ मधेस आन्दोलनका मुद्दाहरु फिर्ता गरिए । विप्लवहरुलाई भने झुलाएरै राखियो । यसरी खुला गतिविधिमा आए पनि उनीहरु मूलधारको राजनीतिमा कसरी जाने भन्ने अन्यौलमै छन् । सरकारले आफ्नो पक्षका कैदी, बन्दी रिहा नगरेको अवस्थामा पार्टी गतिविधि गर्न समस्या छ ।
कतिपय नेता–कार्यकर्तामाथि फौजदारी अभियोगमा मुद्दा चलाइएको छ । पक्राउ नपरेका ती नेता–कार्यकर्ता खुलेआम हिँड्न सकेका छैनन् । पूर्वशर्त थियो, ती सबै मुद्दा र अभियोग फिर्ता लिने । तर, सरकारले यसमा कुनै चासो दिएन । अर्थात्, सरकारले सशस्त्र द्वन्द्व अन्त्य र विप्लव, सिके राउतहरुलाई शान्ति प्रक्रियामा ल्याएँ भन्न त पायो । तर, आएकाहरुले खुला हुनुबाहेक केही पाएनन् । सरकारले चाहिँ सशस्त्र द्वन्द्वरत समूहहरुलाई शान्तिप्रक्रियामा ल्याएको भनी जस बटुल्ने मौका पाएको छ ।
अहिले विप्लव नेतृत्वको नेकपाका देशभरमा छुट्न बाँकी नेता–कार्यकर्ताको संख्या एक सय ३७ छ । तीमध्ये सबैजसो पुर्पक्षका लागि थुनामा राखिएका हुन् । त्यसबाहेक ९० जनामाथि विभिन्न फौजदारी मुद्दा छ । त्यही कारण उनीहरु खुलेआम हिँड्डुल गर्न सकिरहेका छैनन् । यी सबै काम अदालती प्रक्रियाबाट हल गरिनुपर्ने हो । त्यसका लागि महान्यायाधिवक्ताबाट कदम चालिनुपर्छ ।
यस्तो स्थितिमा विरिक्तिएर गाउँघरतिर घुम्दै हिँडेका अध्यक्ष विप्लवले काठमाडौंमा एउटा सम्पर्क कार्यालय खोल्ने कुरा गरेका छन् । तर, भनेजस्तो घर पाइएको छैन । त्यो कार्यालयमा विप्लव आफू नबस्ने, अरुलाई राख्ने तयारी रहेको बुझिन्छ । जन आस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०९ असार २०७८, ०८ : ०६
लेखकबाट थप