कांग्रसका प्रजातन्त्र सेनानीको नाममा सभागृह

रासस

शुक्रबार, ०४ असार २०७८, ११ : ४२
कांग्रसका प्रजातन्त्र सेनानीको नाममा सभागृह

चितवन । नेपाली कांग्रेस चितवनले प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेस चितवनका सल्लाहाकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको नामाकरण गरेको छ । श्रेष्ठको निधन भएको १३औँ दिनको पुण्यतिथिको अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जलिसभामा कांग्रेस पार्टी कार्यालयमा रहेको सभाहललाई उनको सम्झनामा महेश्वरलाल स्मृति सभाहल घोषणा गरिएको हो ।

श्रद्धाञ्जलिसभामा कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ, जिल्ला सदस्य केशव महर्जनलगायतले श्रेष्ठको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति श्रेष्ठले सभाहलको नामकरण गरेका हुन्।

विसं १९९४ पुस २९ गते मकवानपुरको चिसापानीगढीमा जन्मिएका उनले पाल्पाको पब्लिक पदम हाइस्कूलमा अध्ययन गरेका थिए । विसं २०१२ मा चितवन आएका उनले २०१४ को भद्रअवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं २०१५ बाट चितवनमा स्थायी बसोबास गरेका उनी सोही वर्ष भएको आम निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विसं २०१७ को राजनीतिक कूसँगै तनहुँको बन्दीपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ मा भरतपुर कब्जा गर्ने सशस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व. श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत सशस्त्र विद्रोहमा नेतृत्व प्रदान गरेको कांग्रेस चितवनका सभापति श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार विसं २०१८ पछि आठ वर्ष निर्वासन, पटक–पटक राजबन्दीका रूपमा जेलजीवन, २१ पटक हिरासतमा परेका उनी २०४६ को जनआन्दोलनमा तत्कालीन सरकारले राज्यद्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो । उनको निधन जेठ २२ गते काठमाडौँमा उपचारका क्रममा भएको हो ।

प्रतिक्रिया दिनुहोस