प्रधानमन्त्री बन्न म जत्तिको बलियो उम्मेदवार एमाले र माओवादी भित्र छैनन् : बामदेव

शनिबार, १६ मंसिर २०७४, १५ : ०७
प्रधानमन्त्री बन्न म जत्तिको बलियो उम्मेदवार एमाले र माओवादी भित्र छैनन् : बामदेव

बर्दिया । नेकपा एमालेका उपाध्यक्ष एवम् बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बामदेव गौतमले अबको प्रधानमन्त्री आफू नै बन्ने दाबी गरेका छन् ।
आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले एक साक्षात्कारमा आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको दाबी गरे ।

केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्दैनन भन्नु गलत प्रचारमात्रै भएको समेत उनले टिप्पणी गरे । उनले थपे,‘शतप्रतिशत गर्छन् । यस्तो पनि कसैले कुरा गर्छ ? यो त कांग्रेसको दिमागमा आएको सपनाको पुलाउ हो । हामीले त जितिसक्यौँ । कांग्रेसले त कति ठाउँमा हाछौँ भनेर गनिरहेका छन् ।
नेपाली कांग्रेसले त तपाईहरु अधिनायकवादतिर जाँदै हुनुहुन्छ भन्ने आरोप लगाएका छन् नि ? भनेर सोधिएको प्रश्नमा गौतमले थपे,‘त्यो आरोप गलत छ । कम्युनिष्टलाई आरोप लगाएर कांग्रेस नै अधिनायकवाद तिर गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित काम गरिरहेका छन् । आयोगलाई टेरेका छैनन्।’
आफूहरुले राष्ट्रपति शासन ल्याउने भनेर घोषणापत्रमा कहीँकतै नलेखेको उल्लेख गर्दै भने,‘अहिले घोषणापत्रमा लेखेका छैनौँ । तर पछि आवश्यकता अनुसार राष्ट्रपति शासनमा जान्छौँ । नेपाली जनताले चाहे भने प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिय शासनमा जान सक्छौँ ।’
वाम गठबन्धनको दुई तिहाई बहुमत आउने समेत गौतमको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस