विषालु च्याउ खाँदा दुईजनाको मृत्यु

रासस

बुधबार, २६ जेठ २०७८, ०९ : ०३
विषालु च्याउ खाँदा दुईजनाको मृत्यु

झापा ।  विषालु च्याउ खाँदा इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई रहको प्रहरीले जनाएको छ । उनीहरुको मंगलबार मृत्यु भएको हो । 

दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

यस्तै जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो । वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन्। उनीहरूलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो। 

प्रतिक्रिया दिनुहोस