युवतीलाई प्रेमपत्र लेखेको भन्दै दलित युवकलाई निर्घात कुटपिट

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १६ : ४४
युवतीलाई प्रेमपत्र लेखेको भन्दै दलित युवकलाई निर्घात कुटपिट

रौतहट । एक युवतीलाई प्रेमपत्र लेखेको भन्दै दलित एक युवकलाई निर्घात कुटपिट भएको छ । दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय दलित युवकले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि निर्घात कुटपिट भएको हो।

विकास पासवान नामका युवकलाई बाँधेर कुटपिट गरेको भिडियो र तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ । कक्षा ११ मा पढ्ने युवक पासवानलाई केही व्यक्तिले बाँधेर कुटपिट गरेका हुन् । कुटपिट गरेको स्थानमा एक दर्जन बढी मानिस जम्मा रहेको तस्बिरमा देखिन्छ ।

कुटाइ खाइरहेका युवकले आफुले गल्ती नगरेको भन्दै याचना गरिरहेको दृश्य देखिन्छ । एकजनाले कुटपिट गरिरहेको र  अन्य व्यक्तिहरु हेरेर बसेको तस्बिरमा देखिन्छ । घटना बिहीबारको हो, शुक्रवार घटना सार्वजनिक भएको छ । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय एक युवतीलाई प्रेमपत्र लेखेपछि कुटपिट भएको आफुले सुनेको बताए ।

वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको जानकारी आफुले पाएको समेत बताए । कुटपिटको घटनामा संलग्नको आरोपमा प्रहरीले ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ गरेको छ । केटी जिस्काएकाले युवकलाई सुधार्नका लागि सामान्य कुटपिट गरेको कुटपिट गर्ने पक्षका व्यक्तिहरुले बताएका छन् भने पीडित युवक पक्षले भने केटी नजिस्काएको, प्रेमपत्र नलेखेको दलित भएकै आधारमा आफू कुटिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस