काठमाडौं ।नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । शुक्रबार मध्य बानेश्वरस्थित बिहान निधि निवासमा विमलेन्द्र र उपेन्द्रबीच छलफल पौने दुई घण्टा वान टू वान वार्ता भएको हो । जसपा विभाजनको डिलमा पुगेपछि प्रदेश २ को सत्ता समीकरण हेरफेर हुने संकेत देखिएको हो । आफ्नो नेतृत्वको सरकार जोगाउन अध्यक्ष यादवले काँग्रेस र माओवादी केन्द्रको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
प्रदेशमा कुल १०७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ३ जनालाई कारबाही गरेपछि अहिले सांसदको संख्या १०४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छ, जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।
यसैगरी नेकपा एमालेको कुल २१ सांसद मध्ये १३ जना माधव नेपाल र ८ जना केपी ओली पक्षमा छन् । नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।
यादव पक्षले केन्द्रमा विपक्षी गठबन्धनमा रहेको काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन खोजेको हो । त्यसका लागि यादवले विहीबार काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । यादवसँगको भेटवार्तापछि विहीबार नै सभापति देउवा र उपसभापति निधिबीच पनि छलफल भएको थियो ।
केन्द्रमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका यादवले प्रदेश २ मा लालबाबु रावतको सरकार जोगाउन काँग्रेसको साथ खोजेका छन् । यादव पक्षलाई माओवादी केन्द्रले भने समर्थन जनाउने बताइसकेको छ । सोही सन्दर्भमा यादवले आज निधिसँग कुराकानी गरेका हुन् ।
प्रदेश २ को सरकार निर्माण सम्बन्धि कुराकानी भयो । केन्द्रको राजनीतिक समीकरण यथावत राखी प्रदेश २ को सरकार निर्माणका विषयमा छलफल भएको हो, स्रोतले भन्यो । स्रोतका अनुसार निधिले यादवसँग काँग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका थिए ।
तर यादवले रावत नेतृत्वको सरकारमा पहिला काँग्रेसलाई हुन आग्रह गरेका थिए । ‘पहिला सरकारमा सहभागी हौं । काँग्रेसलाई मुख्यमन्त्री बनाउने विषयमा त्यसपछि कुरा गरौँला,’ यादवको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १४ : १८
लेखकबाट थप