पार्टीबाट निष्कासनपछि सांसद थापाले भने– ‘किसान बन्छु, खेतीपाती गर्छु’

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १५ : १३
पार्टीबाट निष्कासनपछि सांसद थापाले भने– ‘किसान बन्छु, खेतीपाती गर्छु’

पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई पदमुक्त गरिएको छ । राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ ।

सांसद थापाले अब राजनीतिमा भन्दा खेती किसानीमै क्रियाशील रहने बताए । उनले भने, ‘अब गाउँ फर्कंन्छु । साधारण किसान भएर बस्छु, खेतीकिसानी गर्छु,’ मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव ल्याउँदै नयाँ सरकार बनाउन लागेका नेपाली कांग्रेसलगायत दललाई थापाले साथ दिएका थिएनन् ।

‘म अहिले पनि किसान नै हुँ । गाउँका पीडित जनताले मलाई खेती किसानीमै स्वीकार्छन् होला,’ उनले भने । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै एकबजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिएका थिए । थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो ।

जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टका अनुसार थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गरिएको हो । गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्य छन् । 

प्रतिक्रिया दिनुहोस