डोटीमा एक महिलामाथि सुतिरहेको अवस्थामा आगो लगाइयो

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १२ : १५
डोटीमा एक महिलामाथि सुतिरहेको अवस्थामा आगो लगाइयो

डोटी । डोटीमा एक महिलामाथि सुतिरहेको अवस्थामा आगो लगाइएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो ।

मध्यरातिको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यलय डोटीले  जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी भाटको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्लले जानकारी दिए ।

घाइतेकोे स्वास्थ्य अवस्था गम्भीर रहेको सुजंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । घाइतेको दुबै खुट्टा ,अनुहार , पेट र दायाँ हातमा गम्भीर चोट रहेको बलायरले बताए ।

गम्भीर चोट भएकोले घाइते महिलालाई  अस्पतालले रेफर गरेपनि आर्थिक अभावका कारण बाहिर लैजान नसकिएको उनका आफन्तको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस