खनाल-नेपाल समूहका १५ स्थायी कमिटी सदस्यको अपिल : तानाशाही ओलीविरुद्ध एकजुट होऔँ

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १८ : ३६
खनाल-नेपाल समूहका १५ स्थायी कमिटी सदस्यको अपिल : तानाशाही ओलीविरुद्ध एकजुट होऔँ

काठमाडौं । नेकपा एमालेका १५ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह गरेका छन् । उनीहरुले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा एक हुने बेला आएको पनि जनाएका छन् ।  

झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल र पदेन स्थायी कमिटी सदस्यद्वय अमृतकुमार बोहरा र प्रमेश हमालले बुधबार सयुक्त विज्ञप्ति जारी गर्दै यसका लागि आवश्यक कदम चाल्न तयार रहेको उल्लेख गरेका छन् ।

पार्टीमा मात्र नभएर देशमा नै प्रधानमन्त्री केपी ओलीबाट विधि र पद्धतिविपरीतका क्रियाकलापहरु बढ्दै गएकाले संविधान, पार्टी विधान र पद्धतिको रक्षाको लागि पाइला चाल्नै पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको उनीहरुको विज्ञप्तिमा छ ।

“केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौ । राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन हार्दिक आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस