काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच आज पौने एक घण्टा टेलिफोन संवाद भएको छ ।
कोभिड महामारीको एक वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।
संवादमा राष्ट्रपति भण्डारीले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार भारतका समकक्षी रामनाथ कोविन्दसँग खोप उपलब्ध गराउन लिखित तथा मौखिक आग्रह गरेकी थिइन्।
दुई राष्ट्र प्रमुखबीच भएको वार्तामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउन विशेष आग्रह गरेकी थिइन् । दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।
नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताएकी थिइन् ।
चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवाद समेत दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, १७ : ०२
लेखकबाट थप