निषेधाज्ञामा म्याद नाघेका सामाग्रीको बिक्री, प्रशासनद्वारा सामाग्री नष्ट

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १७ : ०६
निषेधाज्ञामा म्याद नाघेका सामाग्रीको बिक्री, प्रशासनद्वारा सामाग्री नष्ट

सुर्खेत । सुर्खेतमा गत वैशाख १४ गतेदेखि निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाको मौका छोपि व्यापारीहरुले भने मौकाको फाइदा उठाइरहेको पाइएको छ। बजारमा यतिबेला अधिकांश दैनिक आवाश्यक सामाग्रीको मूल्य व्यापारीले मनोमानी वृद्धि गरिरहेका छन् । 

प्रशासनले अनुगमन गर्दा सोही मुल्यमा बिक्रीवितरण गरेको व्यापारी बताउँछन् । यद्यपि उपभोक्ताहरुले सामान्य नुन, तेल, चाउचाउ जस्ता सामाग्रीको बिल नमाग्ने गर्दा व्यापारीहरुले अनुगमन समितिलाई छल्ने गरेका पाइएको छ । उपभोक्तहरुले बजारमा तेलको मूल्य वृद्धि भएको गुनासो गर्ने गरेका छन् । पहिला ११० मा पाईने तेल अहिले १५० सम्म बिक्री गर्ने गरेको पाईएको छ ।

यस्तै वर्षौँदेखि गोताममा राखि म्याद नाघेका सामाग्रीहरु समेत निषेधाज्ञाको मौका छोपि बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आ म्याद नाघेका १५ हजारभन्दा बढी मूल्य बराबरका खाद्य सामग्री नष्ट गरेको छ । बजार अनुगमनको क्रममा सुर्खेतको बराहताल गाउँपालिका स्थित बड्डीचौर बजार क्षेत्रका पसलबाट सामग्री बरामद गरी नष्ट गरिएको हो । 

म्याद नाघेका खाने तेल, दालमोठ, चिउरा, इम्ली, भुजा, चाउचाउ, प्याकेटको माछाजस्ता वस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

निषेधाज्ञा जारी गरिएसँगै निषेधाज्ञाको समयमा हुने अवैध कारोवार रोक्नका लागि प्रशासनले संयुक्त रूपमा बजार अनुगमनलाई तिव्रता दिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

अनुगमनका क्रममा मूल्यमा एकरूपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामग्री भएमा छुट्टै राखी नष्ट गर्ने, निजी स्वास्थ्य संस्थाले वर्तमान कोभिड-१९ को बढ्दो संक्रमणको अवस्थामा सर्वसाधारण नागरिकलाई दिने सेवा र मनोपरामर्शलाई अझ प्रभावकारी बनाउने जस्ता सुझाव दिने गरिएको छ । प्रशासनले यस अघि वीरेन्द्रनगर बजार क्षेत्र तथा जिल्लाका अन्य विभिन्न क्षेत्रमा समेत अनुगमन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस