राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, ११ : ३२
राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज इराकतर्फ जाँदैछ । कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले बताएको छ ।

इराकसँगको मैत्रीपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको संयुक्त छनोटका लागि भ्रमणमा निस्किएको नपाली टोलीले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै, संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ ।

मुख्य प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी समेटिएका छन् ।यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।

विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका पाँच खेलमध्ये एकमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० को फराकिलो पराजय भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा ०-२ को नतिजामा पराजित गरेको थियो ।

तेस्रो खेलमा अस्ट्रेलियासँग ५-० को हार बेहोरेको नेपाल चौथो खेलमा जोर्डनसँग ३-० गोलको नतिजामा पराजित भयो । भूटानमा भएको कुवेतविरुद्धो दोस्रो लेगमा ०-१ ले पराजित भएको नेपालले अझै तीन खेल खेल्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस