काठमाडौंमा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई एक वर्ष कैद

पत्रपत्रिकाबाट

मंगलबार, ११ जेठ २०७८, ०६ : ५५
काठमाडौंमा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई एक वर्ष कैद

काठमाडौं ।  काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । 

मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए । 

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत तथा व्यवस्थित रूपमा सञ्चालन गर्न कानुनी व्यवस्था जारी भइसकेकाले तत्काल कार्यान्वयन गर्ने निर्णय भएको जानकारी उनले जानकारी दिए । 

 सो कानुन (अध्यादेश)अनुसार कसैले कुनै काम गर्न बाधा अवरोध गरेमा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ । 

अध्यादेशबमोजिमको मापदण्ड पालना नगरेमा छ महिना कैद, तीन लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्ने जनाइएको छ । त्यस्तै यो अध्यादेशबमोजिम दिएको आदेशको उल्लङ्घन भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यक्तिलाई एक लाख र संस्थालाई पाँच लाख तत्कालै जरिवाना गराउन सक्नेछन् । कुनै व्यवसाय वा संस्थालाई उक्त सजायका अतिरिक्त छ महिनाका लागि बन्द गर्न आदेश दिन सक्नेछ । गोरखापत्र दैनिकमा खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस