काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । आयोगका अनुसार (आज) बिहीबार बिहान ९ बाट दिउँसो ३ बजेसम्म हुने मतदानका लागि तीन बुथ तयार गरिएको छ ।
जसअनुसार ‘क’ बुथमा प्रदेशसभा सदस्य, ‘ख’मा स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । कोरोना संक्रमण परेका प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि ‘ग’ बुथ बनाइएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीको पीसीआर परीक्षण गरेको छ भने संक्रमित मतदाताको बुथमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई पीपीई लगाएर राखिनेछ ।
प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिबद्ध र क्रियाशील रहेको भन्दै सबै तयारी पूरा भइसकेको जानकारी बुधबार साँझ दिएका छन् । श्रेष्ठका अनुसार उपनिर्वाचनमा बाग्मती प्रदेश सभा सदस्य १ सय १० र बाग्मती प्रदेशअन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता रहने छन् । मतदान हेटौंडा उपमहानगर–४ स्थित भुटनदेवी माविमा हुनेछ ।
बाग्मतीमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् । उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।
राष्टि«य सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ । बाग्मतीतर्फ सत्तारूढ एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री थापले सूर्य, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट उम्मेदवार बनेका देवकोटाले कलम र नेमकिपा उम्मेदवार तामाङले मादल चिह्न पाएका छन् । मुख्य निर्वाचन अधिकृत मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतदानमा सहभागी सबैलाई पीसीआर परीक्षण रिपोर्टसमेत अनिवार्य गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ जेठ २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ५ जना अनुपस्थित
राष्ट्रियसभा सदस्य निर्वाचन: सत्ता गठबन्धनका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्ने
राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिँदै