राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक : पूर्वअर्थमन्त्री पाण्डे

शुक्रबार, १५ मंसिर २०७४, १० : ३०
राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक  : पूर्वअर्थमन्त्री पाण्डे

चितवन, १५ मंसिर । पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गर्नुभएको छ । चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय  खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिनुभयो ।

    एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका  नेता पाण्डलेले बिहीबार यहाँको खैरहनी नगरपालिका–४ चैनपुर, शिवालयचोकमा आयोजित सभामा भन्नुभयो, “अबको निर्वाचन पछि वाम शक्तिको सरकार बन्छ, अनि देश विकास र समृद्धितर्फ अघि बढ्छ ।”राष्ट्रको रक्षाका लागि नै वाम एकता गरिएको उहाँको भनाइ थियो । निजामती कर्मचारी विभिन्न दलको चुनाव प्रचार प्रसारमा सक्रिय रहेकामा आपत्ति जनाउँदै  उहाँले सरकारको नून खाएर एउटा पार्टीको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

    सो क्रममा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससँगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । चितवन क्षेत्र नं १ को लोकतान्त्रिक गठबन्धनअन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले निर्वाचन जितेर आफ्नो क्षेत्रको परिवर्तन गर्ने बताउनुभएको भयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस