राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो, तत्काल कारवाही अघि बढोस् : भीमार्जुन आचार्य

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, १५ : ३४
राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो, तत्काल कारवाही अघि बढोस् : भीमार्जुन आचार्य

काठमाडौँ । संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्यविरूद्धको अपराध गरेको दाबी गरेका छन्। शुक्रबार शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

संविधानविद  आचार्यले प्रधानमन्त्री ओलीले शुक्रबार लिएको पद तथा गोपनीयताको शपथ त्रुटिपूर्ण भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले तत्काल संसदको विशेष अधिवेशन आह्वान गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन्। राष्ट्रपति भण्डारीले दोहोर्‍याएर ‘प्रतिज्ञा गर्छु’ भन्न लगाए पनि प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई निर्देशन दिएका थिए।  त्यसपछि खिस्स हाँसेर राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश पालना गर्दै शपथ अगाडि बढाएकी थिइन्। 
 संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्यविरूद्धको अपराध रहेको आचार्यले बताएका छन्।

उनले भनेका छन्, ‘ संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेका छन। तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरि कारवाही अघि बढोस् ।’

प्रतिक्रिया दिनुहोस