११ दिनमा हात्तीको छावाको न्वारण, शहीदको नामबाट गरियो नामाकरण

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, ०८ : ४०
११ दिनमा हात्तीको छावाको न्वारण, शहीदको नामबाट गरियो नामाकरण

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा एघार दिन अघि जन्मिएको हात्तीको छावाको शुक्रवार न्वारन गरिएको छ ।

बैदिक तथा परम्परागत बिधि अनुरुप न्वारन गरिएको भाले छावाको नाउँ ‘शेषचन्द्र गज’ राखिएको छ । पहिले पहिले राजा, महाराजाका नाउँबाट हात्ती तथा हात्तीको बच्चाको नामाकरण गरिने गरिन्थ्यो । यसपटक भने संरक्षणका कामको क्रममा शहिद भएका व्यक्तिको सम्झनामा यो छावाको नामाकरण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ सालमा कार्यालयका कामका लागि हिडिरहेका राष्ट्रिय निकुञ्जका कर्मचारीलाई गोली हानी हत्या गरिएका हरित शहिद शेषचन्द्र चौधरीको सम्झनामा छावाको नाउँ राखिएको हो ।

प्रमुख संरक्षण अधिकृत बरालले भने, पहिले हात्तीको छावाको नाउँ राजा, महाराजाका नाउँबाट राख्ने गरिन्थ्यो । यो पटक भने हामीले संरक्षणको काममा हिड्दा हिड्दै बीरगति प्राप्त गर्नुभएका हरित शहिदको सम्झनामा छावाको नाउँ राखेका छौँ ।

प्रतिक्रिया दिनुहोस