प्रधानमन्त्रीका विकास विज्ञसहित प्राधिकरणको टोलीद्दारा ग्यास उद्योगहरुको निरीक्षण

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १४ : ००
प्रधानमन्त्रीका विकास विज्ञसहित प्राधिकरणको टोलीद्दारा ग्यास उद्योगहरुको निरीक्षण

काठमाडौं ।अक्सिजन उद्योगहरुमा बिजुली आपूर्ति अनियमित भएको गुनासो आएपछि प्रधानमन्त्रीका विकास विज्ञसहित नेपाल विद्युत प्राधिकरणको टोलीले राजधानीका ग्यास उद्योगहरुको निरीक्षण गरेको छ ।

टोलीले लगनखेलको सगरमाथा अक्सिजन, लुभुको सोपान अक्सिजन र हरिसिद्धिको अर्को एक अक्सिजन उद्योगमा पुगेर विद्युत आपूर्तिको व्यवस्थापनबारे जानकारी लिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले उद्योगहरुमा पुगेर सञ्चालक तथा व्यवस्थापकसँग छलफल गरेको हो ।

विकास विज्ञ थपलियाले कुनैपनि उद्योगहरुमा बाहिर चर्चा गरिएजस्तो विद्युत आपूर्तिमा समस्या नदेखिएको बताए ।‘ग्यास उत्पादनपछिको वितरणमा समस्या रहेछन्,’उनले भने,’तर,उत्पादनका लागि विद्युत आपूर्तिमा उहाँहरुलाई समस्या छैन ।’

महामारीसँगै पछिल्ला दिनमा अक्सिजनको माग ह्वात्तै बढ्दा अक्सिजन उद्योगहरु २४ घण्टा नै चलिरहेका छन् ।तर, विद्युत आपूर्तिमा आउने गडबडीले कतिपय उद्योग समस्यामा छन् । विशेषगरी उपत्यकाबाहिर तराई क्षेत्रमा सञ्चालित उद्योगहरुमा बिजुलीको आपूर्ति कमजोर छ । कतै लाइट काटिइरहने त कथै लो(भोल्टेजले सताउने गरेको गुनासो उद्योगीहरुले गर्दै आएका छन् ।

गुनासोलाई सम्बोधन गर्न प्राधिकरणले काम गरिरहेको र अहिले उद्योगहरुमा विजुली आपूर्ति विश्वसनीय बनाइएको प्रधानमन्त्रीका विकास विज्ञ थपलियाले दावी गरे ।

प्रतिक्रिया दिनुहोस