कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

रासस

शुक्रबार, ३१ बैशाख २०७८, १३ : २७
कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

धनुषा ।जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए ।हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।

रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन् । 

नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महिनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ ।

नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरिद गरेको हो । नेपालको राष्ट्रिय झण्डाको रातो, नीलो र सेतो रङ्ग लगाइएको रेल इन्जिनसहित ६ वटा डब्बामा एकपटकमा १२ सयदेखि १३ सय यात्रु यात्रा गर्नसक्ने क्षमताको छ ।यसअघि नेपालमा कोइला इञ्जिन भएको रेल चल्ने गथ्र्यो जुन सात वर्षदेखि बन्द छ । अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि डिइएमयुको छ । 

प्रतिक्रिया दिनुहोस