एनएसएलको पहिलो सिजनको फाइनलमा  धनगढी र काठमाडौं

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १३ : १६
एनएसएलको पहिलो सिजनको फाइनलमा  धनगढी र काठमाडौं

काठमाडौँ ।देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको पहिलो सिजनको फाइनल धनगढी एफसी र काठमाडौं रेजर्स पुगेका छन् । काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई ३–० ले पन्छाउँदै धनगढीविरुद्ध २० दिनभित्र तेस्रोपल्ट खेल्ने पक्का गरेको हो । धनगढीले लिग र प्लेअफमा काठमाडौंलाई हराएर फाइनल यात्रा गरेको थियो ।

धनगढीले दोस्रो खेलमा काठमाडौंलाई ३–० ले पन्छाउँदै एनएसएलमा विजयी सुरुआत गरेको थियो । लिगमा काठमाडौं पहिलो र धनगढी दोस्रो स्थानमा रहे । त्यसैले सिधै फाइनल प्रवेशका लागि यी दुई क्लब खेलेका थिए । दुई घण्टा चलेको त्यो प्लेअफमा पछाडि परेको स्थिति उल्टाएर धनगढीले २–१ को जित निकालेको थियो । धनगढीविरुद्ध हारे पनि काठमाडौंलाई फाइनल पुग्ने अर्को मौका थियो र त्यसमा उसले छिमेकी टिम ललितपुरलाई सिकार बनायो ।

धनगढीले पहिलो प्लेअफमै जित हात पारेकाले फाइनलअघि तीन दिन आराम गर्ने मौका पायो । काठमाडौंलाई एक दिनको अवसर छ । ललितपुरलाई भने निर्णायक प्लेअफमा फर्किंदा आराम गर्ने त्यस्तो कुनै अवसर थिएन । उसले ‘एलिमिनेटर’ मा बुधबार बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो । त्यसको झन्डै २२ घण्टामै ललितपुरले फेरि दशरथ रंगशालामा काठमाडौंविरुद्ध प्रतिस्पर्धा गर्नुपर्‍यो ।

देशकै फुटबलको छलाङ मार्ने प्रतियोगिता भनिएको एनएसएलले खेलाडीलाई एक खेलपछि कम्तीमा ४८ घण्टा आराम रिकोभरी समय दिनुपर्ने फिफाकै प्रावधान पनि लत्याउँदै ललितपुरलाई आजको भोलि नै खेल्न बाध्य पार्‍यो । व्यावसायिक घरानालाई क्लब मालिकका रूपमा भित्र्याइएको एनएसएलका हरेक टिममा २० खेलाडी छन् ।

एक करोड रुपैयाँ बढी लगानी गरेका सात क्लबहरूले एनएसएलको यस्तो खेलतालिकालाई स्वीकार्नु नै अनौठो थियो । लिगमा ६ टिमले आठ दिनभित्र चार खेल खेलेका थिए । काठमाडौंलाई मात्रै आराम गर्ने अवसर थियो । तर, फाइनल भने टोलीका लागि आठ दिनयताको चौथो खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस