काठमाडौँ । गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिनुभयो ।
घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ । निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयमा औसतमा छ सय जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा अहिले त्यस्तो खपत दिउँसो नै नौ सय जीबीपीएससम्म पुगेको पराजुलीले जानकारी दिनुभयो ।
पिक आवरमै भने एक टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ः०० बजेदेखि राति १०ः०० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ । सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ । सरकारले वैशाख १६ गतेयता काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबाहेक देशका विभिन्न जिल्लामा पनि निषेधाज्ञा जारी भइरहेको छ । कोरोना सङ्क्रमणको गति बढिरहँदा निषेधाज्ञा बढ्न सक्ने सम्भावनाका आधारमा इन्टरनेटको खपत पनि त्यहीअनुसार बढ्ने देखिन्छ । अनलाइनबाटै पढाइ तथा कार्यालयका काम, गेमिङ तथा भिडियो कन्टेन्टको प्रयोग बढ्दा ब्यान्डविथ खपत पनि त्यसैअनुसार बढेको हो ।
गत वर्ष कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दीमा पनि नेपालमा इन्टरनेटको प्रयोग अत्यधिक बढेको थियो । त्यतिबेला अर्थात् बन्दाबन्दी जारी भएकै दिन २०७६ चैत ११ गते इन्टरनेटको प्रयोग दोब्बर बढेको थियो । ब्यान्डविथ अत्यधिक प्रयोग हुँदा सेवा प्रदायकहरूले मनोरञ्जनात्मक गतिविधिका लागि इन्टरनेटको प्रयोग घटाउन आग्रह नै गर्नुपरेको थियो ।
इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ नेपालले भारतबाट आयात गर्छ । भारतका टाटा, एयरटेलजस्ता क्यारियरमार्फत ब्यान्डविथ खरिद गर्दै आएको छ । यस्तो ब्यान्डविथ केही सेवा प्रदायकले नेपाल भित्राएर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भित्र्याउने ठूला सेवा प्रदायक हुन् । नेपालले वार्षिक करिब दुई अर्बको ब्यान्डविथ आयात गर्छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ बैशाख २०७८, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार
मनपरी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन