चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात÷आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै दिन १९ सम्म पुगेको छ । यसअघि धेरै शव आएका दिन १० वटासम्म हुने गरेको भन्दै उनले एकाएक शव बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताए।
कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।
घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी शव आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार सङ्क्रमण भएका दैनिक तीनचारवटा शव सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य शव देवघाटमा अन्त्येष्टि गरिन्छ ।
गत वर्ष यही समयमा पहिलो पटक लकडाउन हुँदा देवघाटमा शवको सङ्ख्या पनि घटेको थियो । उक्त समयमा दैनिक ५÷६ वटा मात्रै शव आउने गरेको बताइन्छ । तर यस पटक शवको सङ्ख्या बढ्नुलाई सङ्क्रमणको कारण होम आइसोलेशनमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । होम आइसोलेशनमा मृत्यु भएकाहरुको शव आफन्तले नै अन्त्येष्टि गर्ने गरेको हुन सक्ने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए ।
सामान्य अवस्थामा टाढाटाढाबाट समेत शव ल्याइने भए पनि लकडाउनका कारण अहिले अन्यत्रबाट शव देवघाट ल्याइँदैन । स्थानीय खोला नदीहरुमा नै अन्त्येष्टि गरिँदै आएको छ । देवघाट क्षेत्रमा वृद्धवृद्धाहरुको बसोबास धेरै भएकाले समितिले थोरै सङ्ख्यामा मात्रै मलामी आइदिन र अन्त्येष्टिस्थलबाट सोझै फर्किन आग्रह गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा