लुम्बिनी प्रदेशका विपक्षी चार दलले गरे मुख्यमन्त्रीलाई बहिष्कार गर्ने घोषणा

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १७ : ३९
लुम्बिनी प्रदेशका विपक्षी चार दलले गरे मुख्यमन्त्रीलाई बहिष्कार गर्ने घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्रीलाई बहिष्कार गर्ने घोषणा गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएको दावी गर्दै ‘अवैधानिक सरकार’लाई प्रदेशभर बहिष्कार गर्ने घोषणा गरेको हो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रदेशसभाको बहुमतले अल्पमतका मुख्यमन्त्रीलाई खारेजको घोषणा समेत गरेका छन् ।नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले माओवादीमा प्रवेश गरेकी सांसद विमला वलीको कीर्ते हस्ताक्षर गरेर संसदीय दलको निर्णय गरेकाले त्यसको कुनै औचित्य नरहेको भन्दै कीर्ते हस्ताक्षरको विरोध गर्दै आन्दोलकका कार्यक्रमसमेत घोषणा गरिएको जानकारी दिए ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले गठबन्धनको बहुमत सदस्यले मुख्यमन्त्रीको सपथ रोक्न निवेदन दिएको स्थितिमा प्रहरी दमन गरेर मुख्यमन्त्री नियुक्त गरी संविधानविपरीत सपथ ग्रहण गराउनु बहुमतको सरकारको मूल्य मान्यता र विधिको शासन तथा संविधानविपरीत भएको बताए । उनले विशेष अधिवेशन अन्त्य गरिनुले प्रदेशसभाको विशेषाधिकार हनन भएको समेत बताए ।

गठबन्धनले प्रदेश प्रमुख कार्यालयमा सांसदहरु निर्मला क्षेत्री, पुमर्ती ढेगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा र दिपेश थारुलाई प्रहरीले धरपकट गरेको भन्दै कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस