काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।
तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।
‘मेसेञ्जर एउटा माध्यम हो । अहिले कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन सम्भव छैन’, तामाङले भने । तीनै जनाले जवाफ दिइसकेको तामाङले बताए । ‘सकारात्मक रुपमा स्पष्टीकरण आएको छ । मैले अध्यक्षलाई त्यो जवाफ दिइसकेको छु,’ उनले भने ।
‘स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ,’ सांसद खातुनले भनिन् । सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको उनले बताइन् ।
‘मैले पनि नवौं महाधिवेशनको विधान अनुसार हिंडेको छु । मलाई लागेको आरोपको खण्डन गर्छु पनि भनेको छु,’ खातुनले भनिन् । तर, ७ चैतमा अध्यक्ष ओलीले संशोधन गरेको भनेको विधान भने आफूले नपढेको पनि उनले बताइन् ।
‘दलको नेता रहनुभएका प्रधानमन्त्रीले बोलाउनु भएको दलको बैठकमा पनि गएको छु । तर, अहिले गाउँमा भएकाले अहिले बनेको विधान पढेको छैन,’ खातुनले भनिन् ।यी तीन जनालाई यसअघि स्पष्टीकरण सोधिएको थिएन । नेपाल समूहको गतिविधिमा सक्रिय अन्य केही सांसदलाई पनि स्पष्टीकरण सोधिएको छैन ।
तर, २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाएका छन् । उक्त दिनको निर्णय हेरेर निर्णय लिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।‘अहिले तत्कालै कुनै प्रक्रिया अगाडि बढ्दैन । तर, त्यस दिन उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ, त्यसैमा धेरै कुरा निर्भर हुन्छ,’ तामाङले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १५ : ०९
लेखकबाट थप