रासस समाचारको गुणस्तर बढाउन निर्देशन

आइतबार, १८ चैत्र २०७४, १७ : ३२
रासस समाचारको गुणस्तर बढाउन निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस) लाई समाचार सेवाको गुणस्तर वृद्धि गरी आत्मनिर्भर बन्न आग्रह गर्नुुभएको छ ।
रासस केन्द्रीय कार्यालयमा आज भएको छलफलमा राज्यमन्त्री बाँस्कोटाले रासस समाचारको मुहान भएकाले अरुको भन्दा खोजी र पृथक शैलीको समाचार उत्पादन गर्न आग्रह गर्नुभयो । राज्यमन्त्री बाँस्कोटाले राससको सेवा प्रवाहमा वृद्धि गर्नका लागि विदेशी समाचार एजेन्सी र स्वदेशी सञ्चारमाध्यमसँग व्यावसायिक आधारमा थप समन्वय गर्नुपर्ने औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “राससको मुख्य कार्य क्षेत्र समाचार सेवा हो, भवन निर्माण वा अन्य काममा नअल्झिएर समयसापेक्ष रुपमा प्रविधिलाई आत्मसात् गर्दै विज्ञापनसमेत उठाएर टेलिभिजन सेवामा जानुपर्छ ।” सञ्चार राज्यमन्त्रीले सबैको भावनाको प्रतिनिधित्व गर्दै प्रतिफल आउने गरी पारदर्शी र सामूहिक भावनाका साथ काम गर्न व्यवस्थापनसँग आग्रह गर्नुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राज्यमन्त्रीको निर्देशनबमोजिम काम गरिने प्रतिबद्धता व्यक्ति गर्नुभयो । महाप्रबन्धक ओपेन्द्र शर्माले संस्थाका कार्यक्रम र अवस्थाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा सञ्चार सचिव केदारबहादुर अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।  (रासस)

प्रतिक्रिया दिनुहोस