ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदीप पदमुक्त

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १३ : १३
ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदीप पदमुक्त

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फ्रेन्चाइज ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षक प्रदीप हुमागाँईलाई पदमुक्त गरेको छ ।एनएसएलमा चार खेलसम्म जितविहीन बनेपछि ललितपुरले हुमागाँईलाई हटाएको हो । ललितपुरले सोमबार स्टेटमेन्ट जारी गर्दै उनलाई पदमुक्त गरेको जानकारी गराएको छ ।

आइतबार पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिएपछि ललितपुरले चार खेलसम्म जित हात पार्न सकेको छैन । पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको ललितपुरले त्यसयता लगातार तेस्रो बराबरी खेलेको हो ।

सात टिम सहभागी लिगमा ललितपुर ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।हुमागाँईले ललितपुर सिटी एफसीको प्रमुख र शिक्षक पदबाट हट्ने औपचारिक अनुरोध क्लबमा बुझाएको ललितपुरले जनाएको छ ।

उनले नतिजा राम्रो नभएकाले प्रशिक्षक पदबाट हट्ने निर्णय गर्दै यसको लागि पूर्णजिम्मेवारी लिने आफ्नो स्टेटमेन्टमा जनाएको पनि ललितपुरले उल्लेख गरेको छ ।पोखरासँग बराबरी खेलेपछि आइतबारै हुमागाँईले क्लबमा राजीनामा बुझाएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक गरेका थिए ।

अब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक राजु तामाङले नेपाल सुपर लिगमा बाँकी समयमको लागि अन्तरिक प्रशिक्षकको रुपमा काम गर्नेछन् ।ललितपुरमा व्यवस्थापक आलोक जंग शाहीले हुमागाँईलाई उनको प्रयासका लागि धन्यवाद दिँदै राजु तामाङले बाँकी खेल सम्हाल्ने बताए ।

‘राजु तामाङ र प्रतिभावान खेलाडी रहेको टिमप्रति विश्वास छ । हामीसँग अझै दुई खेल बाँकी छ र उत्कृष्ट रुपमा सिजन सकाउन सबै केन्द्रित हुनेछौँ,’ शाहीले भने ।ललितपुरले अब बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस