चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १३ : ०२
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । ती सिलिन्डरलाई चाँडो काठ्माडौं ल्याउने तयारी सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।यसैसाता दक्षिण एसियाली मुलुकका पाँच विदेशमन्त्रीसँगको छलफलमा चीनले क्षेत्रीय सहकार्यसहितका विषयमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस्थितीमा चीनले नेपाललाई ९ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउने जनाइसकेको छ ।

चीनले दिने भनेको ती सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो समय नेपालमा पनि अक्सिजन सिलिन्डरको माग बढेपछि सरकारले सिलिन्डर होल्ड नगर्न भनेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्रका सचिव खगराज बरालका अनुसार सीसीएमसीको शुक्रबारको बैठकमा पनि चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २,००० सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको थियो ।ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने भएकाले सरकारले स्थलमार्गबाटै ल्याउने तयारी थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस