‘शंकर पोखरेलले अल्पमतमा परेर पनि सत्ताको लागि नाङ्गो नाच देखाए’ : कांग्रेस केन्द्रिय सदस्य दीपक गिरी

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ०९ : ४९
‘शंकर पोखरेलले अल्पमतमा परेर पनि सत्ताको लागि नाङ्गो नाच देखाए’ : कांग्रेस केन्द्रिय सदस्य दीपक गिरी

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले लुम्बिनी प्रदेशमा एमालेका नेता शंकर पोखरेलले मुख्यमन्त्री बन्नकै लागि संविधान र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका छन् । नेता गिरीले पोखरेलले मुख्यमन्त्री पद र सत्तामा टिकिरहन अविश्वासको प्रस्तावलाई छलेको बताए ।

पोखरेलले विपक्षी दलहरूको अविश्वासको प्रस्ताव छल्न राजीनामाको नाटक गरेर असंवैधानिक बाटोबाट मुख्यमन्त्री बनेको उनले बताएका छन् । ‘एमाले र कम्युनिस्टहरू असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्न कति लालची हुन्छन् भन्ने कुराको उदाहरण लुम्बिनी प्रदेशमा शंकर पोखरेलजीहरूले देखाउनुभएको छ’, कांग्रेस नेता गिरीले भने, ‘असंवैधानिक बाटोबाट मुख्यमन्त्री बनेको व्यक्तिलाई कांग्रेसले स्वीकार गर्न सक्दैन ।’

कांग्रेस नेता गिरीले अलोकतान्त्रिक कार्य गर्ने जो कोही भए पनि स्वीकार गर्न नसकिने बताए । लोकतान्त्रिक पद्धतिलाई कांग्रेसले सधैँ स्वीकार गर्ने बताएका गिरीले लुम्बिनी प्रदेशको अधिनायकवादी एमाले सरकारलाई स्वीकार गर्न नसकिने चेतावनी दिएका छन् ।

 नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासहितका दलका ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले अल्पमतका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकोमा आपत्ति जनाए ।

गिरीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद छलेर मुख्यमन्त्री बनेका पोखरेललाई सपथ गराएको भन्दै विरोध जनाएका छन् । एमालेका नेता पोखरेलले आइतबार साँझ प्रदेश सभा छलेर अल्पमत हुँदाहुँदै पनि मुख्यमन्त्री पदको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस