विकाससँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकास गर्छौ : प्रधानमन्त्री देउवा

विहीबार, १४ मंसिर २०७४, १५ : १२
विकाससँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकास गर्छौ  :  प्रधानमन्त्री देउवा

हेटौँडा, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनले जितेमा विकासनिर्माणसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा उल्लेख्य काम गरेर देखाउने बताउनुभएको छ ।

  मकवानपुरको थाहा नगरपालिकामा आज भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनको जित लोकतन्त्र रक्षाको लागि भएकाले पनि सुनिश्चित गर्न मतदातालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “वाम गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने भएकाले पनि तपाईँहरुले लोकतन्त्र रक्षाको लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनैपर्ने भएको छ ।”
कार्यक्रममा उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार कमल थापाले अन्य दलले वर्षाँैदेखि जितेर पनि जनताको सुःखदुःखमा साथ नदिएको भन्दै यस पटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताउनुभयो । उहाँले आफूले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनःसहयोगका लागि आग्रह गर्नुभयो । उहाँले अब लोकतान्त्रिक गठबन्धनबाट जितेर गएका जनप्रतिनिधिसँग मिलेर उल्लेख्य काम प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा  काँग्रेसका नेता बालकृष्ण खाँणले मकवानपुरले इन्द्रबहादुर बानियाँलाई जिताए काँग्रेस प्रदेशको मुख्यमन्त्री बनाउन पहल गर्ने बताउँदै मतदातासँग मत माग्नुभयो ।
उद्योगपति विनोद चौधरीले लोकतान्त्रिक गठबन्धनले विकासनिर्माणमा मुख्य भूमिका खेल्ने भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।  काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना), प्रदेशसभा क्षेत्र नं २ (क) का उम्मेदवार यतिराज सापकोटा, (ख) का  उम्मेदवार बानियाँलगायतले मन्तव्य दिनुभएको थियो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस