नेपालमा पर्यटनको विगत, वर्तमान र भविष्य

आइतबार, १८ चैत्र २०७४, १५ : ३६

-अनन्तप्रकाश सुवेदी
नेपालको अर्थतन्त्रको मुख्य आधारको रुपमा विकास भइरहेको पर्यटन व्यवसायलाई नयाँ सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने संकेत देखिएको छ । प्रदेश तथा संघका प्रमुख तथा मन्त्रीहरुले गरिरहेका सकारात्मक घोषणाले पनि आशाको संचार गरेको छ । उत्तर र दक्षिण विश्वको दुई ठुला अर्थतन्त्र रहेकाले पनि नेपालले सही नीति नियम तर्जुमा गर्न सकेमात्र विकासमा फड्को मार्न सक्नेमा कुनै द्विविधा छैन । अन्य क्षेत्रहरुसँगै यी दुई देशबाट पर्यटन क्षेत्रमा केही फाइदा लिन सकियो भनेमात्र पनि हामीले समग्र अर्थतन्त्र निकै बलियो बनाउन सक्छौं ।
विश्वको उच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत नेपालको पर्यटन विकासमा सबल पक्षलाई उचित प्रचार प्रसार गर्न, देशभर स्तरीय पूर्वाधार निर्माण गर्न सकियो भनेमात्र तेश्रो मुलुकबाट पनि वार्षिक लाखौं पर्यटक नेपाल भित्र्याउन सकिन्छ । नेपालीहरुमा पनि घुम्ने सँस्कृतिको विकास भइरहेको छ । त्यो समूहलाई नेपालकै उत्कृष्ट गन्तव्यस्थलतर्फ आकर्षित गर्न सकियो भनेमात्र पनि पर्यटकीय गतिविधि ह्वात्तै बढ्ने निश्चित छ ।
पर्यटन मन्त्रालयले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै १५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य प्रस्तुत गरेको छ । यो त्यति महत्वाकांक्षी लक्ष्य होइन । तर यसका लागि केही तयारी भने अवश्य गर्नुपर्दछ । यसको साथै एक कदम अघि बढेर कर्णाली प्रदेशले २०७५ साललाई कर्णाली भ्रमण वर्षको रुपमा प्रस्ताव गर्दै त्यसको पूर्व तयारीका लागि विभिन्न घोषणा गरेको छ । राज्यको प्राथमिकतामा विगतमा यो प्रदेश पछि पारिएको आरोप लाग्दै गर्दा यसको अन्त्य गर्दै स्वशासनको अवधारणसहित आएको प्रादेशिक संरचनाले कर्णाली प्रदेशलाई पर्यटनमार्फत विकास र समृद्धिको उचाइमा पु¥याउने लक्ष लिइएको छ । कर्णाली प्रदेशबाहेक अन्य प्रदेश तथा विभिन्न स्थानीय निकायहरुले पर्यटन प्रवद्र्धनमा विभिन्न योजनाहरु तर्जुमा गरिरहेका छन् ।

पर्यटनको गतिविधिलाई नेतृत्व गर्दै सम्पूर्ण बाधा व्यवधान चिर्दै नयाँ नयाँ अवसर पहिल्याउन केन्द्रमा पर्यटन मन्त्रालय स्थापित छ । सबै प्रदेशहरुमा पनि पर्यटनमन्त्रीको व्यवस्था छ । होटल व्यवसायी, टुर अपरेटर लगायतसँग सरकारी क्षेत्रको सुसम्बन्ध कायम गर्दै विभिन्न गतिविधि संचालन गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा सहित नेपाल पर्यटन बोर्ड काठमाडौंमा स्थापित छ, तर त्यसको भूमिका त्यति प्रभावकारी भएको छैन । पर्यटनका अन्य पूर्वाधारसहित पर्यटन प्रवद्र्धनका लागि स्थापित पर्यटन बोर्ड लगायतका संघसंस्थाहरुलाई चुस्त र भ्रष्टाचाररहित बनाउनु अहिलेको सरकारको प्राथमिकता हुनुपर्दछ ।

पर्यटकहरुको गन्तव्यको आधारमा नेपाल एसियाको करिब २५ मुख्य गन्तव्यको रुपमा पर्दछ । सन् २०१५ मा गएको महाभूकम्पका कारणले उक्त वर्ष केही पर्यटक आगमन घटे पनि २०१६ र ०१७ मा क्रमिक सुधार भइरहेको तथ्यांकले देखाउँछ । २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भित्रिएकोमा सन् २०१७ मा यो बढेर ९ लाख ४० हजार २ सय १८ पुग्यो । यो बढ्ने नै क्रममा रहेको छ । संसारभरको तथ्यांकको आँकलन गरेर प्रस्तुत विभिन्न विश्लेषणहरुले पनि विश्वभर पर्यटन क्षेत्रको गतिविधि बढिराखेकै पाइन्छ । विश्वभर २०१६ को तुलनामा समग्र आर्थिक कारोबार ३ प्रतिशत मात्र वृद्धि भएकोमा पर्यटन क्षेत्रको गतिविधि ४ दशमलव ६ प्रतिशतले वृद्धि भएको आँकडा फेला परेको छ । विश्वभर पर्यटन क्षेत्रले गत वर्षमात्र कुल ग्राहस्थ उत्पादनमा १० दशमलव ४ प्रतिशत योगदान गरेको पाइन्छ । त्यसैले नेपालले विश्वभर बढिरहेको पर्यटकीय गतिविधिको फाइदा लिन सक्नुपर्दछ । यसका लागि उपयुक्त नीति तर्जुमा गर्न सक्नुपर्दछ ।

हेवरी किसिंगरले भन्नुहुन्थ्यो, ‘यात्रीहरु यहाँ बाटो छैन, हिँड्दै, बाटो बनाउँदै अघि बढ्नु पर्दछ ।’ जमाना थोरै बदलिएको छ । पर्यटकहरुले न्युनतम रुपमा केही पूर्वाधार जस्तै शान्ति सुरक्षा, यातायात, संचार लगायतको माग गर्दछन् । बाँकी केही बदलिएको छैन । संसारभरका मानिस घुम्न मन पराउँछन् । यो प्रवृत्ति अभैm बढिरहेको पाइन्छ । नयाँ नयाँ सँस्कृतिसँग नजिक हुन र जानका लागि यात्राबाहेक अन्य कुनै भरपर्दाे माध्यम छैन । विश्वका यात्रुहरुलाई नेपालसम्म यात्रा तय गर्न हामीले प्रेरित गर्नुपर्दछ । नेपाललाई हामी स्वर्गको टुक्राको दर्जा दिन्छौं र साँस्कृतिक रुपमा पनि हामी धनी नै छौं । सयौं थुंगा फूलबारीको उपमा दिइएको हाम्रो देशमा विश्वका पर्यटकहरु लालायित पनि छन् । तर हामी वर्षमा १० लाख पर्यटक भित्र्याउन पनि संघर्ष गरिरहेका छौं । यसमा भएको त्रुटि पहिचान गरेर निवारण खोज्नु पर्ने हुन्छ ।

तपो भूमि नेपाल प्राचीनकालमा ध्यानको लागि केन्द्रको रुपमा विकशित भएकाले ऋषि, मुनि र महात्माहरु यो क्षेत्रमा प्राय आउने गर्थे । आधुनिक युगको बारेमा उल्लेख गर्नुपर्दा नेपालमा धेरै पहिलेदेखि पर्यटकहरुको आकर्षणको केन्द्र रहेको विभिन्न विदेशी भ्रमणकर्ताहरुले विभिन्न समयमा प्रकाशित आफ्नो लेख रचनामा नेपालको बारेमा उल्लेख गरेकाले पनि पुष्टि हुन्छ । अझ स्पष्टरुपमा भन्नुपर्दा नेपालमा लिच्छवीकालीन समयदेखि पर्यटकहरुको आगमन भएको मान्न सकिन्छ । यो बेलादेखि नेपालमा इसाइहरुले धर्म प्रचारको लागि नियमित नेपालको भ्रमण गरेको तथ्यहरु पाइन्छ । केही पर्यटकहरु नेपालको जैविक विविधता र भौगोलिक अवस्थाको अध्ययन अनुसन्धानका लागि आएका देखिएपनि मुलतः इसाइ धर्म प्रचार प्रसारको लागि नै पर्यटकहरु नेपाल आएको विभिन्न तथ्यहरुले देखाउँछ ।
हिजोको तपोभूमि आज धार्मिक पर्यटनको केन्द्रको रुपमा चर्चित रहेको छ । बुद्ध धर्मावलम्बीहरुका लागि बुद्धको जन्मस्थल भएका कारणले पनि लुम्बिनी आकर्षणको केन्द्रको रुपमा रहेको छ । यसको साथै शिवरात्रिमा काठमाडौंको पशुपतिनाथ र माघे सँक्रान्तिमा देवघाट नेपालभरका तथा भारतबाट आउने हिन्दु धर्मावलम्बीहरुले भरिएको पाइन्छ । साथै मिथिलान्चलको राजधानीको रुपमा रहेको जनकपुरधाम आज पनि सो क्षेत्रका लागि आस्थाको केन्द्रको रुपमा रहिआएको छ । नेपालमा पर्यटकहरुको आगमन निरन्तर भइरहेको छ । सगरमाथा लगायत ८००० मिटरमाथिका हिमश्रृंखला लगायत धेरै हिमालय आवरण तथा अन्य साहसिक पर्यटनको लागि पनि नेपाल आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

जैविक विविधताको लागि आकर्षण केन्द्र, सर्वाेच्च शिखर लगायत अन्य धेरै साहसिक पर्यटनको लागि अवसरहरु, हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको आस्थाको धरोहर लगायत विविध कारणले नेपालमा करोडौं पर्यटकको आगमन हुनुपर्ने देखिन्छ । तर हाम्रो अपुरो व्यवस्थापन, यातायात लगायतको पूर्वाधारको कमि कमजोरी, प्रचार प्रसारमा कमजोरी लगायत विविध कारणले पर्यटकको आगमन आशा गरेको अनुरुप वृद्धि हुन सकिरहेको छैन । विभिन्न मिसिनरी र केही अवस्थामा हाम्रा नै केही क्रियाशील गैरसरकारी संघ संस्था तथा सरकारी निकायले पनि अनुदानको आशामा अभाव र गरिबीले ग्रस्त देशको  रुपमा विश्वभर प्रचार गर्ने गरेकाले पनि यहाँ गुणस्तरीय पर्यटकहरुको आकर्षण हुन नसक्नु एउटा प्रमुख कारण पनि रहेको छ । यस्ता विविध नकारात्मक प्रचार प्रसारलाई चिर्दै आफ्नो भाषा, सँस्कृति र परम्परालाई जोगाउँदै नेपालको सकरात्मक प्रचार प्रसार गर्न सकेमात्र पर्यटक आगमनमा बल पुग्न सक्दछ ।
तथ्यांकले बताउँछ कि प्रत्येक १४ दिनमा पृथ्वीमा एउटा भाषा मर्दछ, सँगसँगै त्योसँग सम्बन्धित धर्म, सँस्कृति र परम्परा नष्ट हुन्छ । कला र सँस्कृतिलाई नै हामीले पर्यटन प्रवद्र्धनको एउटा बलियो खम्बाको रुपमा लिएकाले यसतर्फ राज्यका अंगहरु साथै जनमानस पनि सचेत हुन जरुरी छ । नेपाली भाषा सँस्कृति नै संरक्षण गर्न नसक्ने अवस्था श्रृजना हुनपूर्व नै उचित कदम चाल्न आवश्य छ । नेपाली भाषासहित नेपालभित्र प्रचलित अन्य थुप्रै भाषा, सँस्कृतिको रक्षा र विकास पनि हाम्रै दायित्व हो । हामीले बुझ्नुपर्दछ कि पर्यटकको आगमनसँगै वातावरण प्रदुषण, साँस्कृतिक रुपमा हुने त्यसको असर, वन्यजन्तु तथा जैविक विविधतामा हानि नोक्सानी आदि पर्न सक्छ । यसलाई सकेको न्यूनीकरण गर्दै समुदायले पाउने आर्थिक फाइदाहरु जस्तै बसोबास खर्च, खानपान तथा घुमघाम खर्च साथै कतिपय अवस्थामा हुने साँस्कृतिक जगेर्नाको पक्षलाई सकारात्मक तवरले हेर्नु पर्दछ ।
प्रतिक्रियाको लागि : [email protected]

 

प्रतिक्रिया दिनुहोस