क्यान्सर अस्पतालमा दैनिक सात सय बिरामी

आइतबार, १८ चैत्र २०७४, १४ : ३२
क्यान्सर अस्पतालमा दैनिक सात सय बिरामी

   
भरतपुर । भरतपुरको क्यान्सर अस्पताललाई क्यान्सर लाग्यो भनिन्थ्यो । क्यान्सर अस्पतालमा बिरामीहरुको संख्या लगतार बढ्नुको साटो घट्दो क्रममा थियो । दैनिक तीन सय जनामात्र बिरामी उपचारका लागि आउने अवस्थासम्म आयो, तर अहिले क्यान्सर अस्पतालमा दैनिक ७ सय बिरामीले सेवा लिने गरेको अस्तपालका कार्यकारी अध्यक्ष विजयचन्द्र आचार्यले जानकारी दिनुभयो ।
“अस्तपालको ल्याबका उपकरणहरु सबै बिग्रिएको अवस्थामा थियो” उहाँले भन्नुभयो, “मर्मत गर्न मिल्ने उपकरणलाई मर्मत ग¥यौं । खरिद प्रकृयाहरु सबै नेपाल सरकारको सार्वजनिक खरिद निकायबाट हाम्रो टेण्डर प्रकृयाबाट गरेर सिस्टम बसाल्यौ ।” पाँच वर्षदेखि बिग्रेको मेशिन बनाउन डेढ करोड खर्च लागेको आचार्यले बताउनु भयो । अस्तपालमा लामो समयदेखि बिग्रिएका मेशिनहरु मर्मत नहुँदा बिरामीहरु अन्य ठाउँमा जानुपर्ने अवस्था थियो ।
अस्पतालका कार्यकारी निर्देशक आचार्यले रेडियो डाइग्नोसिस सेवामा सम्पूर्ण मेसिनको मर्मतपश्चात उपचार सेवा सहजरुपमा सुरु गरेको बताउनु भयो । रेडियो थेरापी गर्ने मेसिनहरुको मर्मत गरेर संचालनमा ल्याई अस्पतालको सेवालाई चुस्त पारेको उहाँले जानकारी दिनुभयो । अहिले रेडियो थेरापी, एम.आर.आई, सिटि स्क्यान सेवा बिरामीले अस्पतालभित्रै प्राप्त गरिरहेका छन् । कर्मचारीलाई अतिरिक्त भत्ता दिएर रेडियो थेरापी, रेडियो डाइग्नोसिस सेवा सुचारु गर्न सफल भएको आचार्यको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस