छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १४ : १४
छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला  छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक  कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न  उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । 

आमा समूहका सचिव माने रावतले भने, “अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यस्तो अवस्थालाई अन्त्य गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौ । ”अभियान अन्तर्गत छुई भएका समयमा घरको एक कोठामा राख्न परिवारलाई आग्रह गरिने, पोषिला खानेकुराको आवश्यकताका बारेमा जानकारी बताएका छन् ।  

अझै छुई हुँदा तीनदेखि सात दिनसम्म गोठमा बस्ने  चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुनेजस्ता भ्रम छ  । उनले , “छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो । ”

तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मूलनका लागि महाअभियान थालेका थिए ।  अभियान नसकिँदै उहाँको सरुवा भएको थियो । अहिले गाउँमा महिलाले नेतृत्व लिन थालेका छन्। गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल हुने गरेको छ। कहिले स्थानीय अगुवासँग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसँगको छलफललाई घनिभुत बनाउँदै लगेको स्थानीयवासि गोइली बुढाले बताइन् । उनले भनिन् ,“  सुरक्षाको लागि भएपनि छुइगोठ भत्काएर घरमा बस्नु पर्ने बेला आइपुगेको छ । ” अहिले छुइगोठमुक्त अभियान नै सञ्चालन भएपछि अधिकांश महिला घरभित्रको एक कोठामै बस्न थालेको उनले जानकारी दिए । 

छुइगोठमुक्त अभियानमा महिलाको सक्रिया प्रशंसनीय रहेको महिला नेतृ नारायणी चौलागाइँले बताइन् । उनले भनीन् ,“ छुइ प्रथा अभिशाप हो । समाजमा विकृतिका रुपमा जरा गाडेको छ ।  पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेका छन् । छुइ भएको समयमा गोठमा बस्दा रोगकिराको सङ्क्रमण हुने खतरा छ । ”

मानिसबाट पनि डराउनुपर्ने अवस्था रहेको महिला नेतृ चौलागाइँले बताइन् । उनले भनिन्, “गाउँमा छुई मुक्त गोठ निर्माणका लागि स्थानीय महिलासँग  बैठक भइरहेका छन् । विकृति हटाउनको लागि कम्मर कसेर लागेका छन् ।” तिला गाउँपालिका–१ देखि ९सम्म मासिक बैठक भइरहेको छ । गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले भने, “परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर हटाउनुपर्ने समय आएको छ ।   धामिझाँक्री, सासु ससुरा, पुरुष, किशोर किशोरीसँग छलफल भएको छ । पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त वनाउने अभियान शुरु भएको उनले जानकारी दिए  । 
 

प्रतिक्रिया दिनुहोस