भीम रावल भन्छन्,- प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि एकता संभव छैन

शनिबार, १७ चैत्र २०७४, १२ : ५६
भीम रावल भन्छन्,- प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि एकता संभव छैन

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच छिटै एकीकरण हुने बताएका छन् । छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने बताए ।

आज शनिबार गेटा विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । दुबै पार्टीद्वारा गठीत समितिहरुले आ आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो । उनले सञ्चारमाध्यममा आएजस्तो पार्टीको भागबण्डामा कुनै बिमति नरहेको बताउदै दुबै पार्टीका नेतालाई सम्मानजनक रुपमा पद र संख्याको ब्यवस्थापन गरिने बताए ।
एकअर्को प्रसंगमा उपाध्यक्ष रावलले देउवा सरकारले हचुवाका भरमा विभिन्न निर्णय गरी देशको अर्थतन्त्रमा केही अपठ्यारो पारेकोले त्यसलाई स्पीरिटमा ल्याउन केही समय लाग्ने बताए । अर्थमन्त्री  युवराज खतीवडाले हिजो संसदमा पेश गरेको श्वेत पत्रबाट तत्कालीन देउवा सरकारले देशको ढुकुटीमा पारेको असर बारे आमजनतालाई जानकारी भएको बताए ।
नवगठीत सरकारले देशको अर्थतन्त्रलाई मजबूत बनाई पाँच, छ महिनाभित्र आर्थिक विकासमा फड्को मार्ने र तराई, पहाड र हिमालका जनतालाई एकजुट गराई राजनीतिक स्थायीत्व गराउने बताए ।

प्रतिक्रिया दिनुहोस