प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी हो, अन्त्यमा हिटलर जस्तै पतन भएर जान्छ : माधव नेपाल

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १५ : ४३
प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी हो, अन्त्यमा हिटलर जस्तै पतन भएर जान्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली तर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताए ।

यस्तै प्रधानमन्त्री बनाउन जसले भ¥याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पु¥याईदिएको पनि टिप्पणी गरे । यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लाए । आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताए । उनले भने, ‘हाम्रैदेशमा कतिपयहरु छन् नजितुन्जेलसम्म ठुलाठुला कुरा गर्छन जितेको भोलिपल्ट आफुलाई सम्राट ठान्ने गर्दछन् ।

जितेको भोलिपल्ट जुन भ¥याङ चढेका हुन्छन त्यो भ¥याङ्लाई लात्तिले पुक्क फालेर हिर्काएर फाल्दिन्छन र पुक्क फालिएकाहरु सडकमा पछारिन्छन त्यसपछि उनिहरु बिजोग हुने स्थितिमा पुग्न खोज्दछन् । तर आँटिलाहरु फेरी उठछन, जिउमा धुलाहरु हुन्छन त्यो फेरी फालेर, जिउबाट हटाएर उ फ्रेस भएर अगाडि बढ्छ । धुलो टक्टक्याउने र हटाउने, चुनौतिको सामना गर्ने र  उज्यालो भविश्यको दिशातर्फ अगाडि बढ्ने, उज्यालो भविश्य के हो त ? राजतन्त्रमा फर्किने होइन, संविधानलाई मास्नेपनि होइन, पुरानो समाजतर्फ जाने पनि होइन, प्रतिगमनतर्फ जानेपनि होइन, अधिनायकवादी चिन्तन र विचारलाई हावी हुन दिने पनि होइन, कसैको व्यक्तिगत लहडको आधारमा चल्ने पनि होइन, व्यक्ति पूजालाई प्रोत्साहन दिनेपनि होइन ।

असल कुराहरु कहिँबाट हुन्छ भने अवश्य पनि त्यसलाई विना पूर्वाग्रह हामीले राम्रो भन्न सक्नुपर्छ । यसर्थमा राम्रो के हो नराम्रो के हो आदेश दिएर हुँदो रहेनछ । आदेश दिएर पार लाग्दैन । त्यसको निम्ति खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजनमण्डली बनाएर भजनमण्डलीको माध्यमबाट प्रचार गरेर पनि हुँदैन । त्यो प्रचार होइन त्यो कुप्रचार हुन पुग्दछ र कुप्रचारको अन्त्यमा पतन हुन्छ । हार हन्छ । किन भने हिटलरले यस्तै कोसिस गरेको थियो । हिटलरको कोसिस समाप्त भयो । हिटलरसँगसँगै एउटा अध्याय समाप्त भयो ।’

नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको पनि बताए । यस्तै आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको पनि आरोप लगाए । तर नेपाली जनतामा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृतिको हार हुने पनि बताए । उनले भने, ‘संसदले राम्रो भूमिका निर्वाह गर्दैछ तर संसदमा आफ्नो समर्थन नभएपछि संसदलाई नै घाँडो ठान्ने,  पार्टी भित्र आफ्नो बहुमत नभएपछि पार्टीलाई नै घाँडो ठान्ने, घरमा आदेश पालक नभएपछि घरैलाई घाँडो ठान्ने, अनि घरै भत्काइदिने, पार्टी नै भत्काइदिने, संसदै भङ्ग गरिदिने यस्तो विध्वंसकारी प्रवृति हाम्रो नेपाली समाजमा हिजोआज देखा पर्न थालेको छ ।

यो विध्वंसकारी प्रवृतिले सबैलाई दुःख दिइरहेको छ । दुःखको मात्रा फरकफरक होला तर नेपाली जनतामा सबै चिजको सामना गर्ने आँट रहेछ, खुबी रहेछ, क्षमता रहेछ र हामी यस अर्थमा भन्छौं गलत कुराको हार हुन्छ सत्यको जित हुन्छ त्यसैले हार भयो भनेर थाक्ने पनि होइन, हार मानेर मैदान छोडने पनि होइन । दृढताका साथ अगाडि बढ्ने हो ।’

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताए । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पारे । तर प्रतिगमनले फेरी सताएको पनि नेता नेपालले बताए । विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तरपनि प्रतिगमनले नछोडेको अनुभुति भएको पनि बताए । तर अन्त्यमा सत्यकै जित हुने विश्वास आफूहरुको रहेको पनि बताए ।

उनले भने ‘यो प्रतिगमनले धेरै सताएको छ । धेरै सतायो, राजतन्त्र हुँदाखेरीपनि प्रतिगमनले सताएको थियो । अब त प्रतिगमनलाई पार लगाइयो भन्यौं गणतन्त्र आयो फेरी प्रतिगमनकै हातमा छ । यो प्रतिगमनको कालो बादल कहिले सम्म मडारिने हो हामी त्यसको प्रतिक्षामा छौं । अन्त्यमा फेरीपनि सत्यकै जित हुन्छ, प्रतिगमनको हार हुन्छ ।’

देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिवी, अभाव, बेरोजगारी यी सबै समस्याहरुको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरुले गरेको पनि बताए । यस्तै समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि नेता नेपालले बताए । समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरुलाई सुझाव पनि दिए । देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।
 

प्रतिक्रिया दिनुहोस