लुम्बिनी प्रदेशमा जसपा संसदीय दलको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १२ : ३०
लुम्बिनी प्रदेशमा जसपा संसदीय दलको बैठक बस्दै

बुटवल । लुम्बिनी प्रदेशमा निर्णायक मानिएको जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक आइतबार दिउँसो बस्ने भएको छ ।सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बस्नुअघि जसपाको बैठक तय भएको हो ।

६ जना सांसद रहेको जसपा संसदीय दल एक ढिक्का नहुँदा सरकारविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव टरेको थियो । लामो समय अनिर्णयको बन्दी बनेको जसपा संसदीय दलको बैठकले गर्ने निर्णयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार जोगिने वा ढल्ने छिनोफानो हुनेछ ।

जसपाका ६ जना सांसदमध्ये पूर्वराजपाकी सांसद कल्पना पाण्डे लम्साल अविश्वास प्रस्तावको विपक्षमा छन् भने पूर्वसंघीय समाजवादी फोरमका विजयवबहादुर यादव र सन्तोष पाण्डे पनि पार्टी केन्द्रको लिखित निर्देशन आउनुपर्ने भन्दै अविश्वासको प्रस्तावको पक्षमा उभिन आलटाल गर्दै आएका छन् ।

यद्यपि, यादव र पाण्डेले आफूहरु पार्टी निर्णयभन्दा बाहिर नजाने बताउँदै आएका छन् । संसदीय दलका नेता यादवसहित समानुपातिक सांसद पुरमति ढेंगा र सुमन रायमाझी भने अविश्वास प्रस्तावको पक्षमा छन् । ‘मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा निर्णय गर्नुपर्ने भएकाले संसदीय दलको वैठक बस्न लागेका हौं,’ जसपा संसदीय दलका नेता सहषराम यादवले भने, ‘पार्टीमा मतभेद हुनु स्वभाविक हो, केन्द्रको असर पनि होला, तर प्रदेशको हकमा जे हुन्छ हामी बैठक बसेर नै निर्णय गर्छौं।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूह संसद विघटन गरेर प्रतिगमन र निरंकुश बाटोमा हिँड्नुका साथै विगतमा मधेश, आदिवासी जनजाति, समावेशिता, संघीयताका विषयमा अनुदार रहेकाले उनीहरुलाई समर्थन गर्न नसकिने नेता यादवले बताए ।

दुई हप्ताअघि जसपा सांसदहरु विभाजित हुँदा सरकारविरुद्धको अविश्वास प्रस्ताव तुहिएको थियो । लगत्तै सरकारले हतारमा संसद अधिवेशन समेत अन्त्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस