काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । शिक्षामन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा दर्ता गरेकी हुन् ।
मन्त्री भट्टराईका अनुसार विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक भएकोले विधेयक ल्याइएको हो ।
विधेयक ल्याउनुको उद्देश्य र कारणमा भनिएको छ, ‘जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुयाउन … ।’
प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार, परीक्षण सम्बन्धी व्यवस्था विधेयकमा प्रस्तावित छ ।कार्यकारी निर्देशक र कर्मचारी सम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षण तथा डिएनए डाटा बैंकको स्थापनासहितका व्यवस्था विधेयकमा प्रस्तावित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १२ : ०४
लेखकबाट थप