नयाँ सरकार गठनबारे एमाले द्वारा परामर्श

पत्रपत्रिकाबाट

विहीबार, ०२ बैशाख २०७८, ०८ : ०३
नयाँ सरकार गठनबारे एमाले द्वारा परामर्श

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमाले अब नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलसँग आन्तरिक छलफलमा जुटेको छ। माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर सरकारमा सहभागी तीनै जना मन्त्रीले राजीनामा दिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । 

कर्णालीमा नयाँ सरकार गठनको चर्चासँगै नेपाली काँग्रेस र राप्रपामध्ये एउटा दललाई लिएर एमालेले सरकार बनाउने अनुमान गरिएको छ। एमालेलाई सरकार बनाउनका लागि एक जना प्रदेश सभा सदस्यको आवश्यकता छ। एमालेका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री शाहीले नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिनुपर्ने बताउँदै आएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले दलका नेता यामलाल कँडेललाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न जिम्मा दिएको हुनाले छलफल अगाडि बढाइएको बताए । उनले आउने वैशाखको पहिलो सातामा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने पनि जानकारी दिए । उनले अब मुख्यमन्त्रीले सरकार गठनका लागि वातावरण तयार गर्नुपर्ने बताए । 

“एमालेले समर्थन फिर्ता लिएपछि सरकार अहिले अल्पमतमा परेको छ। एमालेबाहेक अन्य दलको प्रतिनिधित्व जोड्दा पनि सरकारले बहुमत पु¥याउने अवस्था छैन। त्यसैले सरकारले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन मार्ग प्रशस्त गर्नुपर्छ,” उनले भने ।  यसरी एमाले नयाँ सरकारको गठनको तयारीमा लागेको बताइरहेको बेला माओवादी केन्द्र भने अल्पमतमा परेको सरकार टिकाइराख्ने कसरतमा रहेको खबर गोरखापत्रमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस