कांग्रेसलाई गण्डकी प्रदेशको मुख्यमन्त्री दिन माओवादी केन्द्र तयार

सफल खबर संवाददाता

बुधबार, ०१ बैशाख २०७८, १४ : ४१
कांग्रेसलाई गण्डकी प्रदेशको मुख्यमन्त्री दिन माओवादी केन्द्र तयार

पोखरा ।  नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको मुख्यमन्त्री दिन माओवादी केन्द्र सहमत भएको छ । कांग्रेसबाट कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बन्ने सम्भावना छ ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ ।

अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणीतीय रुपमा सम्भव भएको छ । स्रोतका अनुसार नयाँ सरकार बनाउँदा मुख्यमन्त्री कांग्रेसले लिने सहमति जुटेको छ ।

मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ भएको भेटमा गण्डकीको मुख्यमन्त्रीबारे टुंगो लगाएको एक गण्डकी प्रदेशका एक सांसदले जानकारी दिए ।उनका अनुसार अब एक दुई दिनमा नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ । दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ । माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख छन्,  उनले सरकार गठनमा मत दिने छैनन् ।

राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।माओवादी केन्द्रका दुई मन्त्रीले राजीनाना दिएसँगै मुख्यमन्त्री गुरुङले बहुमत सुरक्षित गर्न राष्ट्रिय जनमोर्चालाई सरकारमा सहभागी गराउने प्रयत्न गरेका थिए ।

तर जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि गुरुङ नेतृत्वको सरकार ढल्ने र कांग्रेसको नेतृत्व नयाँ सरकार बन्ने निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस