सरोकारवालाको सुझाव : विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, ११ : ४३
सरोकारवालाको सुझाव : विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ

काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए ।

कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा प्रभाव पर्यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने बताए । कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्छ उनको भनाइ थियो ।

‘संघीय सरकारमा केन्द्रिकृत मानसिकता छ, विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्नु हुँदैन,’ उनले भने । उनले विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने धारणा राखे ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले पनि कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने बताए ।सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न सुझाव दिए । उनले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस