चार दिन पैदल  हिँडेर योजना सम्झौता गर्दै स्थायिनबासी

पत्रपत्रिकाबाट

शनिबार, २८ चैत्र २०७७, ०७ : ५३
चार दिन पैदल  हिँडेर योजना सम्झौता गर्दै स्थायिनबासी

हुम्ला । हिमालपारिको गाउँ  लिमीबाट चार दिन  पैदल  हिँडेर  योजनाको  सम्झौता  गर्न  स्थानीय बासिन्दा सदरमुकाम सिमकोट आइपुगेका छन् । प्रदेश  र  सङ्घीय सरकार मातहतका  कार्यक्रम  सदरमुकाम  सिमकोटमै  भएको  कारण  न्यालु लेकको  हिउँ छिचोल्दै उनीहरू सदरमुकाम सिमकोट आइपुगेका  हुन् । 

नाम्खा गाउँपालिका–६, हल्जीगाउँमा तटबन्धन बनाउने योजनाको डिभिजन वन कार्यालयसँग सम्झौता गर्न सिमकोट आइपुगेको निर्माण उपभोक्ता समितिका सदस्य तुण्डुप तामाङले  बताए । गाउँमा गठन गरिएको उपभोक्ता समितिले सो कार्यालयसँग  सम्झौता  गरेको  उनले जानकारी दिए । 

लिमीका  बासिन्दाले विकास  निर्माणका  काम  गर्न  चार  दिन  पैदलै  हिँडेर  सम्झौताका  लागि  सदरमुकाम सिमकोट   धाउनैपर्ने   बाध्यता रहेको छ । चार  दिन  हिँडेर  सिमकोट  आइपुगेको  र  योजनाको  सम्झौता  भएकाले  अब  गाउँ  फर्केर  निर्माण  कार्य सुरु गरिने तामाङले उल्लेख गरे । 

त्यसैगरी वडा कार्यालय भवन  र  स्टोर  भवनको  घेरबार निर्माणका  लागि  गाउँपालिकासँग  सम्झौता गर्न न्यालु लेकको तीन फिट  हिउँ छिचोलेर आई  सम्झौता  गरेको  सो  योजनाका  उपभोक्ता समितिका सदस्य पासाङ दोर्जी तामाङले बताए ।  न्यालु लेकमा   हिमपातले   गाडी  सञ्चालन  नभएका  कारण  निकै  कष्टका  साथ  पैदल  हिँडेर  सम्झौता  गर्नुपरेको  उनको  भनाइ  छ ।

सो योजना ३७ लाख रुपियाँमा निर्माण हुने बताइएको छ  । योजनाको  सम्झौता  गाउँमा नहुने  भएपछि  विकास  गर्न  यसरी गाउँपालिका  केन्द्र  र  सदरमुकाम  सिमकोटमा रहेका कार्यालयमा धाउनुपर्ने बाध्यता लिमीवासीको  रहेको बताइन्छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस