ओली सहभागी लगनखेलको सभानजिक विष्फोट, सभा जारी

बुधबार, १३ मंसिर २०७४, १६ : ४८
ओली सहभागी लगनखेलको सभानजिक विष्फोट, सभा जारी

काठमाडौं । ललितपुरको लगनखेलमा आयोजित कम्युनिष्ट गठबन्धनको चुनावी सभानजिकै विष्फोट भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली मञ्चमा उक्लिनेबित्तिकै विष्फोटको आवाज आएको थियो । विष्फोटपछि सभामा केहीबेर तनाव उत्पन्न भए पनि केही बेरमा स्थिति सामान्य भएको सभास्थलमा रहेका बाह्रखरी संवाददाता शिवनारायण गिरीले जनाएका छन् ।

उद्घोषकले टायर पड्किएको भने पनि आवाज निकै ठूलो भएकाले सामान्य खालको बम नै हुन सक्ने सभास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् । विष्फोट सभा भइरहेको स्थानभन्दा करिब सय मिटर टाढा भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरका अनुसार एमालेको चुनावी सभा भएको स्थानभन्दा केही पर नमुना मच्छिन्द्र मावि नजिकै बम विष्पोट भएको जस्तो आवाज आएको छ । तर, बम हो या अन्य कुनै वस्तु विष्फोट भएको भन्नेबारे एकिन नभएको एसएसपी ऐरले बताए ।

सभामा ओली बोलिरहेका छन् । ‘बम पड्किरहन्छ, हामी अगाडि बढ्न्पर्छ’ भन्दै ओलीले कसैले तर्साएर आफूहरु नतर्सिने बताए ।

प्रतिक्रिया दिनुहोस